बनेपामा सुरु भयो छाडा चौपाय बचाउने अभियान

बनेपामा सुरु भयो छाडा चौपाय बचाउने अभियान


बनेपा ।

‘प्रशासनसित अनुमति लिएर आफूहरु सुरक्षित भएर हिडेको पनि आज १० दिन भयो ।’ बनेपा नगरपालिका वडा नं. ८ की सर्बश्री अधिकारीले सबैमा आग्रह गर्दै भनिन्, ‘बनेपामा अहिले त धेरै मानिसहरुले पनि पशुपंक्षीहरुलाई दाना पानी दिन थाल्नु भएको रहेछ, यस्तो देखेर खुशी लाग्यो । मेरा सबै ठाउँको साथीहरूले पनि आफूले सकेको गर्नु होला है ।’

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउन घोषणा गरेर लामो समयसम्म पनि खानाको अभावमा रहेका छाडा पशुचौपायलाई बनेपा नगरपालिका वडा नं. ८ की सर्बश्री अधिकारी र रोहीत श्रेष्ठले खाना, विष्कुट र पानी लगायतको ब्यवस्था गर्दै आएका छन् । केही दिनदेखि उनीहरुले सडकका विभिन्न ठाउँ र खम्बाहरुमा भाँडा समेत झुण्ड्याएर अरुलाई पनि अभियानमा साथ दिन प्रेरित गर्दै आएका छन् । त्यससँगै सडक पेटीमा बेवारिसे अवस्थामा रहेका मान्छेहरुलाई समेत खानाको ब्यवस्था गर्दै आइरहेका छन् ।

घर, पसल र होटलहरु बन्द भएपछि छाडा रहेका पशु चौपायले खाना र पानी समेत नपाउने अवस्था देखेपछि उनीहरुले खाना र पानीको ब्यवस्था गर्दै आएको सर्बश्री अधिकारीले बताइन् । बजार क्षेत्रमा भेटेका जतिलाई खुवाउने र नभेटेकालाई पछि खान मिल्ने गरी विजुली र अन्य खम्बाहरुमा बाँधेर राखिएको भाँडामा हालेर राख्ने ब्यवस्था मिलाएको उनले बताइन् । ‘बनेपाको पुल बजारदेखि बुडोलसम्मका बजारक्षेत्रमा रहेका कुकुर, गाई लगायतका चौपायलाई दिन बिराएर ब्यवस्थापन गर्दै आएका छौं ।’ उनले भनिन्, ‘घर पसल र होटलहरु बन्द भएपछि खान नपाएर छट्पटिएर बसेका प्राणीको प्राण धान्नको लागि यो अभियान चलाएका हौं ।’

कति वटा चौपायलाई खाना खुवाइयो भन्ने विवरण नराखेको भएपनि दिन बिराएर बजार क्षेत्रका सडक पेटी र गल्लितिर रहेका पशु चौपायको लागि दाता नै बनेका छन् अधिकारी र श्रेष्ठ । आफूहरुले चलाएको अभियानमा अरुले पनि सहयोग गर्नको लागि उनीहरुले आह्वान गर्दै ति झुन्ड्याएर राखिएका टोकरीहरुमा खाना र पानी राखेर सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।

‘हामीले बाहिरी र भित्रि सडक छेउमा रहेका खम्बाहरुमा करिब ८० वटा ठाउँमा त्यसरी भाँडा झुण्ड्याएर राखेका छौं, ति ठाउँमा बेकरीहरुले पिठोहरु दिइरहेका छन् ।’ उनीहरु भन्छन् , ‘हाम्रो अभियान देखेपछि बाटोमा हिड्नेहरुले पनि पाँच सय, दूई सय, एक हजार मेरो तर्फबाट भन्दै दिने गरेका छन् ।’ ‘प्रोजेक्ट डक फिड’ नाम दिएर चलाएको अभियानमा नगरपालिकाहरुले साथ दिएमा छाडा चौपायले बाँच्न पाउने उनीहरुको भनाई छ ।

Logo