काठमाडौँ । नेपालको प्राचीन मार्गको रुपमा रहेको चन्द्रागिरी सडक मर्मत शुरू भएको ४ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन् सकेको छैन । गणेशमान मार्ग नामाकरण गरिएको यो सडक खण्ड १५ महिनामा निर्माण सम्पन्न गर्ने गरि पिएस किराँतेश्वर जेभीसँग सम्झौता गरी काम अघि बढाइएको भएपनि ४ वर्ष बितिसक्दा समेत सडक निर्माण सम्पन्न हुन नसकेको हो।
चन्द्रागिरिदेखि पानीघाटसम्मको सडक स्तरोन्नतिको लागि २०७३ साउन १७ गते सम्झौता भएको थियो । सडक विभागअन्तर्गतको चित्लाङ थानकोट सडक आयोजनाका अनुसार यो सडक स्तरोन्नतिका लागि ४ पटक म्याद थप भएको छ । तेस्रो पटक थपिएको म्याद गएको वैशाख १५ गते सकिएको थियो ।
कोभिड–१९ का कारण काम गर्न समस्या भएकाले निर्माण सम्पन्न हुन नसकेको भन्दै नेपाल सरकारको असार अन्तिम साता बसेको मुख्य सचिवस्तरीय बैठकले ६ महिना म्याद थप गरेको थियो । यस अवधिमा पनि खासै काम हुन् सकेको छैन । अहिलेसम्म करिव ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
तर, म्याद सकिनै लाग्दा अहिले रातारात काम भइरहेको छ । अहिले थानकोट चन्द्रागिरी सडकखण्डको सेतो पहरा कटिङको काम भइरहेको छ । त्यसका लागि कात्तिक १९ गतेदेखि अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि यातायात बन्द गरिएको चित्लाङ चन्द्रागिरी थानकोट सडक निर्माण सरोकार समितिले जनाएको छ ।
विसं २०१८ सालदेखि २०२३ सालसम्म पाँच वर्ष लगातार श्रमदान गरेर चित्लाङका बासिन्दाले मोटर गुड्नेसम्म बनाएको चित्लाङ चन्द्रागिरि सडक २०७१ सालमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्तरीकरण शुरु गरिएको थियो । डिपिआरमा रु एक अर्ब १३ करोड ३६ लाख बजेट अनुमान गरिएकोमा हालसम्म यो सडकमा रु ४५ करोड खर्च भएको सडक आयोजना कार्यालयले जनाएको छ ।
ढुंगामा ठेस !
समयमै सडक नबन्नुको एउटा खास कारण यहाँबाट निस्किने ‘स्टोन’ माथिको ‘स्ट्राटिजी’ हो।
सडक चौडा पार्ने क्रममा निस्किएको ढुङ्गा बिक्री गर्न वन कार्यालयले छुट्टै बोलपत्र आह्वान गरेको थियो । यसको ठेक्कासमेत पिएस किँरातेश्वरले पाएको थियो । त्यहाँ करोडौ मूल्य बराबरको ढुंगा निस्किने आंकलन गरिएको छ तर, करिव ७५ लाख रुपैयाँमा ढुंगा व्यवस्थापन गर्ने जिम्मा निर्माण कम्पनीले पाएको छ ।
सडक खन्दा निस्किएको ढुङ्गा–माटो थुपार्ने ठाउँ नभएको र ढुङ्गा बिक्री गर्न नपाएकाले सडक निर्माणमा समस्या आएको निर्माण कम्पनीले जनाएको छ । ढुंगा व्यवस्थापन गर्न स्थानीयले अवरोध गरेको कम्पनीको भनाइ छ ।
उता चन्द्रागिरि नगरपालिकाले त्यहाँबाट निस्किएका ढुंगा, गिट्टी सबैभन्दा पहिले सो निर्माण कार्यमा उपयोग गरेर बचेको मात्र बेच्नका लागि थानकोट–चित्लाङ सडक निर्माण आयोजना कार्यालयलाई पत्राचार गरेको थियो । स्थानीयले पनि बाटो निर्माण गर्दा उत्खनन भएका ढुङ्गा त्यही प्रयोग गरी काम सम्पन्न गर्नुपर्ने र बचेको मात्र बेच्नुपर्ने बताउदै आएका छन् ।
स्थानीय विनोद महर्जनले उत्खनन भएको ढुङ्गाबाट बाटोको नाली, पर्खाल र तार जाली भरेमा बाटो छिटो बन्ने बताए । प्राकृतिक स्रोत साधन दोहन गरेर कौडीको भाउमा बेच्ने तयारी भइरहेको भन्दै उनले स्थानीय सचेत हुनुपर्ने बताए । थानकोट चित्लाङ सडक वन पैदावार व्यवस्थापन समितिका संयोजक तथा चन्द्रागिरी नगरपालिका ४ का वडाध्यक्ष कृष्णप्रसाद शाहीले पनि ढुंगाको दोहन गरेर थानकोटबासीको वस्ती धरापमा पार्न नहुने बताएका छन् ।
विकासको द्वार नै नबनेपछि कसरी हुन्छ विकास ?
चन्द्रागिरी सडक थाहानगर विकासको द्वार हो । यो सडक निर्माण सम्पन्न भएमा त्यहाँको पर्यटन, कृषिलगायतको विकासमा महत्वपूर्ण योगदान पुग्नेछ । त्रिभुवन राजपथको बैकल्पिक बाटोको रूपमा रहेको यो मार्ग समयमा बन्न नसक्दा थाहानगरको विकास समेत पछाडि धकेलिएको स्थानीय अगुवाहरू बताउँछन् ।
त्यसो त चारपटक म्याद थप गर्दा पनि सडक निर्माण सम्पन्न नभएको भन्दै स्थानीय आक्रोशित भएका छन्। चित्लाङ्गका काजी बस्नेतले दैनिक एम्बुलेन्स गुड्ने सडक झोखिमपूर्ण रहेकाले सकेसम्म चाडो निर्माण सम्पन्न गर्नुपर्ने बताए । यो बाटो राम्रो बनाउन सरकारको मात्रै मुख नहेरेर स्थानीय पनि एकजुट हुनुपर्ने उनको भनाइ छ। स्थानीयको सक्रियताले बाटो निर्माणले गति लिएको बताउदै उनले निर्माण कम्पनीको म्याद थप गरी काम लाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ । उनले भने, “अबको दिन झन जटिल छ, सरकारले थपेको ठेक्काको म्याद सकेको अवस्था छ, हामी स्थानीय ४ वर्ष सम्म कुरेर सास्ती खेप्यौ अब चुप बस्ने वाला छैनौ।”
स्थानीयले राजधानीबाट करिव १८ किमीको दुरीमा रहेर पनि काठमाडौं पुग्न ४ घण्टाको सवारी यात्रा गर्नुपरेको भन्दै आक्रोश पोखेका छन् । यो बाटो बन्द हुँदा चित्लाङका स्थानीय अहिले बाइरोडको बाटो र कुलेखानी-फर्पिङ्को बाटोबाट काठमाडौँ आवतजावत गर्न बाध्य छन् । चन्द्रागिरीको बाटो बन्द गरेपछि स्थानीय उत्पादनले समेत बजार नपाएको स्थानीय राजन बलामीको गुनासो छ ।
ठेकेदारले ढिलासुस्ती गरेको भन्दै आक्रोशित युवाहरुको समूहले गत वर्ष (जेठ ४) पनि निर्माणस्थलमै पुगेर विरोध गरेका थिए । त्यतिवेला स्थानीयले बाटोमा रहेको ढुंगामुढाहरु हटाउँदै एक साताभित्र ट्रयाक खोल्न अल्टिमेटम समेत दिएका थिए ।
मकवानपुरतर्फको १४.२ किलोमिटर सडकको ठेक्का सम्झौताअनुसार ससाना कामबाहेक पिचको काम मात्र बाँकी रहेको भए पनि काठमाडौँतर्फको ८.३ किलोमिटर खण्डको काम अघि बढ्न नसक्दा स्थानीयले सास्ती खेप्न बाध्य भइरहेका हुन्।
त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि काठमाडौं उपत्यकाको प्रवेशद्वारको रुपमा रहेको थियो, यो बाटो । साविकको चित्लाङ गाउँ हाल थाहा नगरपालिका–९ र १० मा रहेको छ । संस्कृति र इतिहासको अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको चित्लाङको नाम पहिले चित्रापुर थियो ।
पछि चैत्य जाने बाटो भएकाले यसको नाम चैतलोङ रहन गएको थियो । पछि अपभ्रंश भएर यसको चित्लाङ रहन गएको स्थानीयवासी बताउँछन् । चित्लाङको उत्तरतर्फ चन्द्रागिरि डाँडा र दक्षिणतिर महाभारत क्षेत्र रहेको छ ।
२३ सय वर्ष पुरानो यस गाउँमा लिच्छिवीकालीन वास्तुकला र सम्पदा रहेका छन् । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराईतर्फ लाग्ने मानिस चन्द्रागिरि डाँडो पार भएर चित्लाङ हुँदै जाने गर्थे । सर्वसाधारण मात्र नभई मल्लकालीन राजा र राणाहरू पनि तराई आउ–जाउ गर्दा चित्लाङकै बाटोबाट ओहोर–दोहोर गर्थे ।
राणा प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा यही बाटो भएर गएको इतिहासकारहरुको भनाइ छ । अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरले शिकार खेल्न जाँदा निर्माण गरेको पाहुना घर र दरबारहरूको भग्नावशेष पनि ती क्षेत्रमा रहेका छन् । भारतका सम्राट अशोक यही ठाउँहरूबाट काठमाडौं जाने–आउने क्रममा चित्लाङको चित्रापुर नगरको चिलङगा चैत्य निर्माण गरेका थिए।
प्रकाशित: १८ कात्तिक २०७७ १३:४४ मंगलबार