२ रुपैयाँ बचतबाट सुरु गरिएको सहकारीकाे वार्षिक कारोबार करिब ६ करोड

२ रुपैयाँ बचतबाट सुरु गरिएको सहकारीकाे वार्षिक कारोबार करिब ६ करोड


खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सञ्चालित जनसेवा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक बचत करिब छ करोड पुगेको छ । विसं २०४८ मा प्रतिव्यक्ति मासिक दुई जम्मा गर्ने गरी सुरु गरिएको अहिले वार्षिक बचत पाँच करोड ७४ लाख ५४ हजार ४६९ पुगेको हो ।

नियमित बचत गर्ने र आयमूलक काममा लगानी गर्दै जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले स्थानीयवासीको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत सहकारी संस्था स्थापना गरिएको थियो । सहकारीको आफ्नै भवन जालपामा शनिबार सम्पन्न २४ औँ साधारणसभामा सहकारीको निक्षेप तीन करोड ८८ लाख ७० हजार ७७२ पुगेको जानकारी दिइएको छ ।

शेयर पूँजी ४४ लाख १० हजार ५५०, तीन करोड २३ लाख ६६ हजार १५७ कर्जा लगानी गरेको र चार करोड ५० लाख ४० हजार १५८ ऋण असुली गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा शेयर पूँजी एक करोड पुर्याउने लक्ष्यका साथ यस वर्ष सात लाख ६१ हजार ८५ लाभांशलाई शेयर पूँजीमा रूपान्तरण गरिएको सहकारीका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।

बिना धितो एक लाखसम्म ऋण उपलब्ध गराउँदै आएको सहकारीको साधारणसभामा शेयर पूँजी वृद्धिका लागि शेयर पूँजी अभिवृद्धि कार्यायोजना पास गरिएको अध्यक्ष श्रेष्ठले बताए “गत वर्षसम्म प्रतिशेयरको मूल्य ११४ थियो । अहिले प्रतिशेयर मूल्य १२१ पुर्याइएको छ”, अध्यक्ष श्रेष्ठले भने, “यसअघिसम्म प्रतिव्यक्ति १०० कित्ता शेयर किन्नुपर्ने व्यवस्था रहेकोमा यस वर्षबाट बढाएर प्रतिव्यक्ति १५० कित्ता शेयर किन्नुपर्ने व्यवस्था निर्धारण गरेका छौँ ।”

सहकारीले नियमित बचत, ऐच्छिक बचत, ऋण परिचालन, आवधिक बचत, स्वास्थ्य कोष, मनिट्रान्सफरलगायतका सेवा प्रवाह गर्दै आएको छ । हालसम्म जालपा, खार्मी र हौंचुरलाई कार्यक्षेत्र बनाएको सहकारीले चालु आवदेखि माक्पा र सप्तेश्वरमा समेत कारोवार सुरु गर्ने तयारी गरेको छ ।

Logo