अन्य प्रदेश ३

विज्ञहरुकाे सुझाव, ‘एन्टिजिन परीक्षण पीसीआरको विकल्प हुन सक्दैन’ (भिडियाेसहित)

15 Shares

काठमाडौं ।

एन्टिजिन परीक्षणलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन् । एन्टिजिनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजिनलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका हुन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का खोप विज्ञ डा. तिर्थ घिमिरेले पीसीआरले भाइरसभित्र रहेको अणुवंशिक पदार्थलाई सजिलै चिन्ने तर एन्टिजिनले भाइरसका टुक्राटुक्रीलाई मात्रै चिन्ने विशेषता हुने बताए।

त्यसकारण एन्टिजिनबाट फल्स रिपोर्टसमेत आउने भएकाले यसलाई पीसीआरको विकल्पमा लिन नहुने बताए । एन्टिजिन टेस्ट गर्दा कहिलेकाहिं कोभिड १९ संक्रमण भएकालाई नभएको र नभएकालाई भएको रिजल्ट दिने भएकाले यसलाई पीसीआरको विकल्पमा प्रयोगमा ल्याउन नहुने डा. घिमिरेले बताए । उनले भने, ‘पीसीआरको विकल्पमा एन्टिजिन टेस्ट हुन सक्दैन । पीसीआर भनेको हाइलि एडभान्स टेक्नोलोजी हो । पीसीआर एउटा कन्फमेटरी अर्थात् कोभिड छ भनेर पक्का गर्ने अथवा छैन भनेर पक्का गर्ने विधि हो । तर यो एन्टिजिन परीक्षण कन्फर्म परीक्षण होइन । यसमा फल्स पोजेटिभ अथवा फल्स नेगेटीभ नतिजा आउन सक्छ । त्यो भनेको मेरो शरिरमा कोभिड १९ नहुँदा नहुँदै पनि कहिलेकाहिं देखाइदिने र कोभिड १९ छ भने पनि नदेखाइदिने एन्टिजिन परीक्षणले गर्छ ।’

एन्टिजिन परीक्षण सस्तो, छिटो र सजिलो छ भन्दैमा पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने उनले बताए । एन्टिजिनलाई अत्यावश्यक अवस्थामा मात्रै प्रयोग गर्न सकिने उनको भनाई छ । त्यसबाहेक समूहमा बसोबास गर्नेहरुमा यसबाट परीक्षण गरी स्थितिको बारेमा जानकारी लिन सकिने पनि डा. घिमिरेले बताए ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं माइक्रो बायोलोजिष्ट मेघराज बन्जाराले एन्टिजेन परीक्षण परीक्षणकै रुपमा रहेकाले अहिले नै पीसीआरको विकल्पमा प्रयोग गर्न नहुने बताए । उनले भने, ‘यो एन्टिजिन परीक्षण परीक्षणकै क्रममा रहेकाले प्रयोग गर्न हुन्छ वा गर्न हुन्न भन्ने अवस्थामा म छैन । तर यसको नतिजालाई पीसीआरको नतिजासँग तुलना गरेर यदि यसको पफमेन्स पनि, सेन्सेटिभिटी, स्पेसिफिसिटी पनि विश्व स्वास्थ्य संगठनले दिएको मार्गदर्शन अनुसारको र हाम्रो देशमा परीक्षण गर्दा पनि रियल टाइम पीसीआर जत्तिकै सेन्सेटीभ भयो भने यसलाई प्रयोग गर्न सकिन्छ ।’

अहिले प्रयोगमा आएका एन्टिजिन टेष्टहरु कुनै पनि आधाकारिक निकायबाट प्रमाणित भइसकेको छैन । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले पनि आपतकालिन स्वीकृत मात्रै दिएको बन्जाराले बताए। अहिले सबै ठाउँमा एन्टिजिन परीक्षण परीक्षणकै रुपमा रहेको र यसको नतिजा उच्च संवेदनशिल, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य संगठनले ८० प्रतिशत भन्दा बढी सेन्सेटिभिटी भयो भनेर प्रमाणित गर्यो भने मात्रै पीसीआरको विकल्पमा प्रयोग गर्न सकिने पनि बन्जाराले बताए ।

सरकारले भने कोभिड–१९ संक्रमणको पहिचानका लागि भन्दै एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण शुरु भएको हो ।

प्रकाशित: २२ मंसिर २०७७ ०७:०७ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी