सांसद हुन अढाई करोड बुझाएको खुलासा (एक्सक्लुसिभ अडियो)

सांसद हुन अढाई करोड बुझाएको खुलासा (एक्सक्लुसिभ अडियो)


काठमाडौं ।

गत माघ ९ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सांसद हुन अढाई करोड रुपैयाँ घुस बुझाएको खुलासा भएको छ । केन्द्रबिन्दुलाई प्राप्त अडियो टेपमा भएको कुराकानीमा प्रदेश नं २ बाट राष्ट्रिय जनता पार्टीं (राजपा) का उम्मेदवार बनेका शेखर कुमार सिंहले अढाई करोड रुपैयाँ बुझाएर सांसद बनेको खुलासा भएको हो ।

अडियो टेपमा सुरजीत सिंह र ज्योती झाबीचकोे संवाद रहेको छ । राष्ट्रिय सभा सदस्य बन्न शेखर कुमार सिंहले पार्टीलाई पैसा बुझाएको कुरा सुरजीत सिंह र झाले गरेका छन् । अढाई करोड बुझाएर राष्ट्रिय सभा सदस्य बनेका शेखर कुमार सिंह र सुरजीत सिंहको पारिवारिक विरादरी एउटै र उनीहरुबीच हाल तिक्ततापूर्ण सम्बन्ध रहेको बुझिन्छ । उनीहरु दुईबीच कुराकानी भइरहँदा पूर्व रक्षा सचिव तिलकराम शर्मा पनि मिसिएका छन् । उनीहरुको कुराकानीको आधारमा पूर्व रक्षा सचिव शर्माले शेखर कुमार सिंहलाई सांसदको उम्मेदवार बन्न अढाई करोड रुपैयाँको व्यवस्था गरेको बुझिन्छ । उक्त कुरा स्वयं शर्माले नै अडियो वार्तामा खुलेर बताएका छन् । ज्योती झा भने पूर्व सचिव तिलकराम शर्माको रकम उठाइदिनका निम्ती अग्रसर देखिन्छन् । पूर्व सचिव शर्मा मार्फत आफन्तको पैसा फसेकोले आफू अग्रसर हुनुपरेको उनको भनाई छ ।

मधेसवादी दलको नेतृत्वलाई योग्य नेता तथा कार्यकर्तालाई पाखा लगाएर पैसावालाहरुलाई टिकट बेच्ने गरेको आरोप लाग्दै आएको छ । यस अडियोले उनीहरुमाथिको आरोपलाई पुष्टि गर्न मद्दत गर्छ । पार्टीले राष्ट्रिय सभा उम्मेद्वार तय गर्दै गर्दा टिकट बेच्ने योजना बनाएको स्रोतको दाबी समेत छ । अडियो टेप प्रकरणमा शरदसिंह भण्डारी, राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झालाई सम्बोधन गरेर कुराकानी गरिएको छ । स्रोतको दाबी अनुसार पूर्व सचिव शर्मा अर्का राजपा नेता शरदसिंह भण्डारी निकट हुन् ।

राजपाका शेखर कुमार सिंहले ५५०२ मत ल्याएर २ नं प्रदेशवाट राष्ट्रिय सभा सदस्यमा विजय हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला पजियारले ४५१२ मत ल्याएका थिए । प्रदेश नम्बर २ मा नेकपा र राजपाको गठबन्धन रहेको थियो ।

Logo