कायममुकायम गभर्नरमा सिवाकोटी (भिडियोसहित)

कायममुकायम गभर्नरमा सिवाकोटी (भिडियोसहित)


काठमाडौं ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढ्न नसक्दा डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीलाई कायममुकायम गभर्नरको जिम्मेवारी दिइएको छ । सरकारले गभर्नर छनोट समिति बनाउन नसकेपछि डेपुटी गभर्नर सिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी दिएको हो ।

प्रधानमन्त्री ओली गत शुक्रबार मात्रै त्रिभुवन शिक्षण अस्पतालबाट डिस्चार्ज भएका थिए । प्रधानमन्त्रीको डिस्चार्ज लगत्तै छनोट समिति बनाउने बताइएपनि मन्त्रिपरिषद्को बैंठक बस्न नसक्दा छनोट समिति बन्न सकेको छैन ।

बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतयाः १ महिना अगावै नयाँ गभर्नर नियुक्ति गरिसक्नु पर्ने राष्ट्र बैंक ऐनमा उल्लेख छ ।

बर्तमान गभर्नर डा. चिरञ्जीबि नेपालको ५ वर्षे कार्यकाल आज बुधबार सकिँदैछ । नेपाल राष्ट्र बैंक ऐन ०५८ मा मन्त्रिपरिषद्ले गभर्नर नियुक्ति गर्न सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ । सो समिति बहालवाला अर्थमन्त्रीको संयोजकत्वमा बनाउनुपर्छ ।

समितिमा पूर्व गभर्नरहरु मध्येबाट एक जना र सरकारले तोकेको एक जना व्यक्ति हुनुपर्ने व्यवस्था छ । यस्तो व्यक्ति आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रमा लब्धप्रतिष्ठित हुनुपर्ने राष्ट्र बैंक ऐन ०५८ ले व्यवस्था गरेको छ ।

सो समितिले गभर्नर नियुक्ति गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिहरु मध्येबाट दुई जना र राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट एक जना छान्नु पर्ने व्यवस्था छ । छनोट समितिले अन्तिममा कुल तीन जनाको नाम सिफारिस गर्नुपर्छ । ती तीनै जनाको नाम मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा गरिएको छ ।

Logo