कोभिड–१९ः नेपाल–भारत मैत्री बस सेवा बन्द

कोभिड–१९ः नेपाल–भारत मैत्री बस सेवा बन्द


धनगढी ।
कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ । धनगढीबाट गौरीफण्टा नाकाहुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए ।

यसबाहेक गौरीफण्टा नाकाहुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप दुई बस सेवा पनि बन्द गरिएको छ । कैलालीको त्रिनगर प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महादेव भट्टले धनगढीबाट नयाँ दिल्लीका लागि छुट्ने बस सेवा सोमबारबाट बन्द गरिएको बताए ।

यता सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले कोरोना भाइरसको कारण यातायात क्षेत्रमा प्रतिकुल प्रभाव परेको बताए। लामो तथा छोटो दुरीमा चल्ने बस सेवामा यात्रुको सङ्ख्या घट्दै गएकाले यातायात सेवा प्रभावित भएको हो ।

धनगढीदेखि काठमाडौँसम्म दैनिक १७ वटा बस सञ्चालन हुने गरेकोमा कोरोना भाइरसको कारण यात्रुको आवागमन घट्दा १० वटा बस मात्र चलाउनुपर्ने देखिएको सापकोटाले बताए । धनगढीदेखि विराटनगर, वीरगञ्ज, जनकपुर, बुटवल, पोखरा जस्ता शहरका लागि छुट्ने बस सेवा कटौती गर्नुपर्ने देखिएको सापकोटाले बताए। पहाडी क्षेत्रका रुटमा मानिसको आवागमन घट्दै गएको छ ।रासस

Logo