पर्यटन व्यवसायमा परेको समस्याको जानकारी दिन सरकारको आग्रह

पर्यटन व्यवसायमा परेको समस्याको जानकारी दिन सरकारको आग्रह


काठमाडौं ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिएपनि पर्यटन क्षेत्रमा समस्या देखा परेको गुनासो पर्यटन व्यवसायीहरुले गरेपछि उपप्रधानमन्त्री पोखरेलले आफ्ना समस्याहरु स्पस्टसँग राख्न आग्रह गरेका हुन् । उनले भावनात्मक रुपमा भन्दा पनि प्राथमिकताका आधारमा पर्यटन व्यवसायमा परेका समस्याहरु पर्यटन मन्त्रालयसँगको सहकार्यमा सरकारलाई उपलब्ध गराउन आग्रह गरेका थिए । उनले सरकारले व्यवसायीहरुलाई सक्दो सहयोग गर्ने आश्वासन दिदै व्यावसायीहरु पनि इमान्दार भएर समस्याको समाधान गर्न सहयोग गर्नुपर्ने बताए ।

होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले होटल व्यवसायीहरुले बैंकको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था आएको बताइन् । उनले अहिले बैंक कर्जा करिब एक अर्ब रहेको र होटलको अकुपेन्सी रेट १० प्रतिशतमा झरेकाले बैंकको किस्ता तिर्न नसक्ने अवस्था सिर्जना भएको बताइन् । उनले होटल संघ नेपालमा आवद्ध भएका होटलहरुले मासिक १ अर्ब ८० करोड रुपैयाँको नोक्सानी बेहोर्नु परेको बताइन् ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन राजेश्वर थापाले तीन क्याटागोरीको एयरलाइन्स रहेकोमा सबैभन्दा बढी हेलिकोप्टर व्यवसायको बिजनेस घटेको बताए । उनले हेलिकोप्टर व्यवसायमा ९० प्रतिशत, सर्ट टेक अफ स्टलमा ६० प्रतिशत र ट्रंकरुटमा २० प्रतिशत सम्मको बिजनेस घटेको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले धेरैजसो एयरलाइन्सले उडान रद्ध गरेको र एयर टिकेटहरु समेत रिफण्ड गर्नुपर्ने अवस्था आएको बताए । उनले पर्यटन व्यवसायीहरुले तिर्नुपर्ने करमा ५० प्रतिशत छुट दिन अथवा करमा लाग्ने जरिवाना नलगाइदिन पहल गर्न बोर्डलाई आग्रह गरिरहेको बताए ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेको छ । व्यवसायीहरुले छोटो समयमा देखिएको संकटले व्यावसायीक क्षेत्रमा एक दुई वर्षसम्म असर पार्न सक्ने भन्दै सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।

Logo