1
1
1

0 Shares

कस्ले कति किलोको माला लगाए ? यी हुन् गरुङ्गा माला लगाउने १२ भिआइपी (भिडियो सहित)

1
1

काठमाडौं, ९ पुस

सामान्यतः माला सबैले लगाउँछन् । तर, गरुङ्गा माला भने कमैले लगाउँछन् । यस्ता गरुङ्गा माला चै कस्ले लगाउँछन् त ? यसको जवाफ हामी सबैमा कौतुहलताको विषय बन्न सक्छ ।

नेपालको सन्दर्भमा भने हाम्रा नेताहरु सबैभन्दा गरुङ्गा माला लगाउँनेमा पर्छन् । नेपालको इतिहासमा २१ देखि १ सय ११ किलोसम्मको माला लगाएको पाइन्छ ।
सबैभन्दा गरुङ्गा र ठूलो माला लगाउनेमा को को छन् त ? कस्ले कति किलोको माला पहिरिएका छन् त ? आजको रिपोर्ट यही विषयमा केन्द्रीत रहेको छ ।

भिडियो हेर्नुहोला

१२. भवानी राणा

पहिले कुरा गरौँ उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको । सिन्धुली उद्योग वाणिज्य सङ्घको २५ औं साधारण सभामा नेपाल उद्योग वाणिज्य महासङ्घकी उपाध्यक्ष भवानी राणाले २५ किलोको माला पहिरिएकी थिइन् ।

११. डा. रामवरण यादव, पूर्व राष्ट्रपति

२०७० मङ्सिर २८ मा नेपाल व्यापार तथा पर्यटन मेलाको उद्घाटन गर्न सुर्खेत पुगेका तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलाई २१ किलोको मालाले स्वागत गरेको थियो । मेला मूल आयोजक समितिका संयोजक तथा सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष पद्मबहादुर शाही र वाणिज्य सङ्घका पूर्व अध्यक्षले संयुक्त रुपमा मालाले स्वागत गरेका थिए ।

राष्ट्रपतिका लागि बाँकेको नेपालगञ्जबाट माला मगाइएको थियो । राष्ट्रपति र अन्य अतिथीलाई स्वागत गर्न तथा मञ्च सजाउन नेपालगञ्जबाट करिब एक लाख बराबरको ४५ किलो हजारी माला भित्र्याइएको मूल आयोजक समितिले जनाएको थियो ।

१०. शेरबहादुर देउवा

२०७१ मङ्सिर २३ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कैलाली उद्योग वाणिज्य महासङ्घले १८ किलोको माला लगाइदिएको थियो । २०६३ सालमा सुदूरपश्चिमबासीको २१ सूत्रीय मागसहित २१ किलोको माला लगाइदिएको ८ वर्षपछि कैलालीको धनगढीमा शुरु भएको सुदूरपश्चिम महोत्सवमा देउवालाई दोस्रो पटक १८ किलोको माला लगाइदिएका हुन् ।

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि सुदूरपश्चिमका सम्भावना उजागर गर्दै हरेक वर्ष मङ्सिर २२ गतेदेखि गर्ने सुदूरपश्चिम महोत्सवमा प्रमुख अतिथिलाई मागको बुँदा जति छ त्यति नै किलोको माला लगाइदिने चलन राखेको छ ।

९. कमल थापा

२०६८ पुस २८ गते राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौंको जिल्ला अधिवेशनमा २५ किलोको माला लगाएका थिए । २५ भन्दा कम ओजनका माला थापाले धेरै ठाउँ पहिरिएका छन् ।

८. झलनाथ खनाल

प्रधानमन्त्री भएका बेला एमाले वरिष्ठ नेता झलनाथ खनालले दाङको कार्यक्रममा ४१ किलोको माला लगाएका थिए । दाङका कम्युनिस्ट आन्दोलनका धरोहर नेत्रलाल पौडेल अभागीको २७ औं स्मृतिसभा र नेकपा एमाले दाङले सुरु गरेको तीन महिने जागरण अभियानको समापनको अवसरमा तुलसीपुरमा आयोजित सभामा तत्कालीन प्रधानमन्त्री खनाललाई कार्यकर्ताले ४१ किलोको माला लगाई दिएका थिए ।

७. प्रचण्ड

विजयी उत्सवमा पनि प्रचण्ड बिना अबिर मालाका साथ जनसमूदायसँग खुशी साटिरहेका छन् । तर उनले माला नलाउने कबुल भने गरेका छैनन् । छोरा प्रकाशको शोकबाट टाढा हुन नसकेकाले उनी कुनै पनि सभा उत्सवमा अविरमाला विना देखिएका हुन् ।

तर यसअघि उनी जति पनि सभासमारोहमा पुगे भारीका भारी माला पहिरिए । गत वर्षको माघ ९ गते मकवानपुरमा ४९ किलोको माला लगाएर प्रचण्ड सम्मानित भए । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ४९ औँ वार्षिक उत्सवको अवसरमा प्रचण्डलाई ४९ किलोको फूलको माला लगाइदिएर सम्मान गरेको हो । उनलाई त्यो माला तीन जनाले उचालेर लगाइदिएका थिए । माला धेरैबेर भने प्रचण्डको गलामा बसेन ।

उद्योग वाणिज्य संघका केही कर्मचारीको आर्थिक सहयोगमा माला तयार पारिएको थियो । यसैगरी बाँकेमा पनि प्रचण्डलाई २५ किलोको माला लगाइदिएका थियो । गत असार ८ गते बाँकेका व्यापारीले प्रचण्डलाई २५ किलोको माला लगाएर स्वागत गरेका हुन् । पार्टीको चुनावी कार्यक्रममा सहभागी हुने क्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतले २५ किलोको माला पर्हियाएर स्वागत गरेका थिए ।

६. दीपक गिरी

गत भदौ २२ गते सिंचाइ मन्त्री दीपक गिरीलाई दाङको तुलसीपुर उद्योग वाणिज्य महासङ्घले ५१ किलोको माला लगाइदिएको थियो । ५१ केजीको माला लगाएर भिआइपी भएको प्रमाण पुष्टि भए झैँ गरेर उनी मख्ख भए ।

५. गगन थापा

युवा नेता गगन थापा युवाका ढुकढुकी नै हुन् । हरेक युवाका सपनालाई सम्बोधन गर्ने आशा भएका गगन स्वास्थ्यमन्त्री भएपछि गत असोज १३ गते नेपालगञ्जमा ५१ किलोको माला लगाउन पुगे ।

यो दृष्यले नेपाली कांग्रेसका युवा नेतासमेत रहेका गगनप्रति धेरैको मन कुडियो । आश लाग्दा नेताको यो हर्कत भनेर शोसल मिडियामा उनी आलोचित पनि बने ।
पार्टी भित्रबाट समेत विरोध भएपछि थापाले आफूलाई जबरजस्ती माला लगाइ दिएको प्रस्टीकरण दिए । यद्यपि, उनले तीन महिनापछि नै उदयपुरमा पुगेर अर्को विशाल माला पहिरिए ।

४. केपी ओली

‘मलाई एउटा कुरा भन्नु छ । कुनै पनि सभामा प्रमुख अतिथि बोलाइन्छ । स्वागतका निम्ति फूल गुच्छा चाहिन्छ । एउटा फूल गुच्छा भए पुग्छ । धेरैवटा माला, खादा आवश्यक छैन । एक जना जो अगाडि हुन्छ, उसले एउटा पुष्पगुच्छा दिने र बाँकीले नमस्कार गरे पुग्यो । धेरै खर्च किन गर्नुर्पयो ?’

२८ असार ०७३ मा त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभाको बैठकमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका त्रिविका कुलपति केपी शर्मा ओलीले व्यक्त गरेका वाक्यांश हुन्, यी । गला नै गल्ने गरी मालाको भारी पहिराइ दिने चुलिँदो चलनप्रति प्रधानमन्त्री छदाँ चिन्तित देखिएका ओलीको बोली १७ महिनामै फेरियो ।

 

प्रतिनिधि र प्रदेश सभाको चुनावी कार्यक्रममा ओली जहाँ पुगे, मालाले पुरिए । आफू मात्र होइन, चुनावी गठबन्धनका सारथी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै गला मिलाएर दुवैले एउटै विशाल माला धारण गरे, ३० कात्तिकमा पर्वतको कुश्मामा । त्यसअघि झापामा समेत ओली र प्रचण्ड एउटै लामो मालामा उनिएका थिए ।

मुलुकको ३८ औँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि एमाले अध्यक्षसमेत रहेका ओलीलाई ६४ किलोको माला लगाएर स्वागत गरिएको थियो ओली निवास बालकोटमा । तर यो  अन्य अवस्थाभन्दा विशेष रहेको थियो । एमाले नगर कमिटीले बालकोट चोकदेखि धिमेबाजासहित नाचगान गर्दै ओली निवाससम्म पुगेर ६४ किलोको माला लगाएर स्वागत गरेका थिए ।

यसैगरी अध्यक्ष ओलीलाई झापाको दमकमा ३० किलोको माला लगाइदिएर सम्मान गरिएको थियो । गत मंसिर २६ गते ओलीलाई दमक नगरपालिकाले सम्मान गरेको हो । मुलुकमा प्रधानमन्त्रीजस्तो प्रमुख जिम्मेवारी पद वहन गर्ने अवसर आउन लागेकाले एमाले अध्यक्ष ओलीलाई नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सयपत्रीको माला लगाइदिएका हुन् ।

३. डीआइजी सर्वेन्द्र खनाल

माला मोहमा नेता मात्रै होइन प्रहरी प्रशासनदेखि अन्य क्षेत्रका व्यक्तित्व पनि परेको देखिएको छ । २०७२ फागुन १७ गते क्याथफोर्ड इन्जिनियरिङ कलेज बालकुमारीले म्याच–फिक्सिङको जालो तोड्न सफल अनुसन्धान गरेको भन्दै डिआइजी सर्वेन्द्र खनाललाई २१ किलोको माला लगाइदिएको थियो ।

यस्तै डीआइजी खनाललाई नै नारायणी अञ्चल प्रहरी कार्यालय वीरगञ्जका प्रमुख हुँदा वीरगञ्जबासीले एक सय किलोको माला लगाएर सम्मान गरेका थिए ।

२. राजेन्द्र महतो

राजपाका बरिष्ठ नेता राजेन्द्र महतोलाई पत्रकारको समूहले १०१ किलोको माला लगाइदिएका छन् । प्रेस मञ्च नेपालले गत पुस २६ गते वीरगन्जमा आयोजना गरेको पहिलो महाधिवेशनको उद्घाटन अवसरमा बरिष्ठ नेता महतोलाई १०१ किलोको मालाले स्वागत गरेको हो ।

१. खुमबहादुर खड्का

सबैभन्दा ओजनदार माला गलाउने नेतामा पर्छन् खुमबहादुर खड्का । २०७० साल असोज २३ गते भ्रष्टाचारी ठहर भई डिल्लीबजार कारागारबाट सजाय भुक्तान गरेर बाहिर निस्कँदा नेपाली कांग्रेसका नेता खड्कालाई कार्यकर्ताले १ सय ११ किलोको माला लगाइदिएका थिए ।

भ्रष्टाचारीलाई ‘यत्रो माला’ भन्दै धेरैले त्यसबेला जिब्रो मात्रै टोकेनन् । जेल भुक्तान गरेर निस्कनु कुन शक्तिको विजय हो भनेर मानिस अलमलिए थिए ।

नेपाली सामाजमा फूलमालालाई खुसी, उत्सव, उल्लास, सौन्दर्य र सम्मानको प्रतीक मानिन्छ । देवी–देवतालाई फूल चढाउने परम्परा छ । फूलले शोभा बढाउने ठानिन्छ । तर, समाज बदल्ने अगुवा नेताहरूको अस्वाभाविक फूलमाला धारणले फूलको असली सौन्दर्य मात्रै छोपिँदै गएको छैन, लोकतन्त्रको सौन्दर्य नै मर्दै गएको एकथरीको विश्लेषण छ । आखिर १ सय केजीको मालाले दिने संदेश के हो ? हाम्रा नेताहरु भ्रममा देखिएका छन् । पछिल्लो समय माला चाकडी गर्ने र चाखडी पचाउने प्रतिकको रुपमा त विकास हुँदै छैन ?, सम्बन्धित पक्षले बेलैमा सोच्न जरुरी छ ।

प्रकाशित: ९ पुष २०७४ १८:४१ आइतबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी