‘नेपाल कोरोना भाइरसबाट सङ्क्रमित भएको छैन’ : मन्त्री खतिवडा

‘नेपाल कोरोना भाइरसबाट सङ्क्रमित भएको छैन’ : मन्त्री खतिवडा


काठमाडौं ।

सरकारले नेपाल कोरोना भाइरसबाट सङ्क्रमित नभएको प्रष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रणको आशङ्का गरिएका व्यक्तिमा ‘नेगेटिभ’ देखिएको बताए।

उनले मुलुकभित्र कोरोना सङ्क्रमित नभएका अवस्थामा मुलुक बाहिरबाट हुन सक्ने सङ्क्रमण रोक्न अन्य मुलुकबाट आउने यात्रुलाई निगरानीमा राख्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताए। “हवाई यात्रुको हकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ‘स्क्रिनिङ’ गरिएको छ, शङ्कास्पद लागेमा क्वारेन्टाइनमा राखिएको छ”, उनले भने “स्थलमार्गबाट आउने पर्यटकलाई ‘अनअराइभल’ भिसा नदिने निर्णय भइसकेको छ, त्यसका अतिरिक्त विभिन्न ६ वटा मुख्य स्थलनाकामा सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइसकेका छौँ ।

नेपाल–भारतबीच नागरिकको अत्यधिक आवातजावत हुने ३७ नाकामा स्वास्थ्य टोली खटाइएको उनले जानकारी दिए । अन्य नाकामा पनि सरकारले थप व्यवस्था गरेको मन्त्री खतिवडाको भनाइ छ । उपप्रधानमन्त्रीको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको दुई पटक बैठक बसिसकेको जानकारी दिँदै उनले समितिले आवश्यक निर्णय गर्दै आएको बताए ।

Logo