अन्य प्रदेश ३

केन्द्रबिन्दु बुलेटिन : देशभर कोरोनाको खोप अभियान सुरु (भिडियोसहित)

15 Shares

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये नेपालमा बुधबारबाट कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको छ । भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप पहिलो चरणमा फ्रन्टलाइनमा रहेर कामगर्नेहरूलाई लगाउँदै सुरु गरिएको हो । बुधबार कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताएका छन् ।

नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै गौतमले अहिले नेपालका सम्पूर्ण श्रमजीवी जनता, लाखौं पार्टी सदस्यहरु, हजारौं कार्यकर्ता र नेताहरु पार्टी विभाजन नहोस् भन्ने पक्षमा रहेको भन्दैसोही माग र चाहनालाई पुरा गर्ने उद्देश्यले एकता राष्ट्रिय अभियान सञ्चालन गरेको बताएका छन् । उनले सर्वोच्चमा परेको मुद्दाको फैसला आउने बित्तिकै ओली र प्रचण्ड पक्षका सबै नेताहरू आफूसँगै मिसिन आउन दावी गर्दै ६ महिनाभित्रमा पार्टी एकता टुंगो लगाउने दावी समेत गरेका छन् ।

साविक विजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपिएफ क्लब प्रधानमन्त्री कपको फाइनलमा पुगेको छ । बुधबारको खेलमा त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको पुलिसले २०४ रनको लक्ष्य पूरा गर्न नसक्दा एपिएफले फाइनल खेलाका लागि स्थान सुरक्षित गरेको हो । अब उपाधिका लागि एपीएफले बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेता टोलीसँग प्रतिश्पर्धा गर्नेछ ।

नेपाल सरकारले बैज्ञानिक वनको नाममा अवैधरुपमा रुख कटान हुने अवस्थालाई रोक्न भन्दै ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । यता, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने बजेटको सुनिश्चित नभएसम्म त्यसस्थानको रुख कटानको स्वीकृति नदिने वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बताएका छन् ।

गत पुष २४ गते प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको लिखित वक्तव्य निकालेका ४ पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । बुधबार अदालत खुलेसँगै राजाराम घिमिरे र लोचन भट्टराई लगायतले अवहेलनाको मुद्दा चलाउन पेश गरेको निवेदन दर्ता गरिएको हो ।

प्रकाशित: १४ माघ २०७७ १९:३३ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी