अन्य प्रदेश ३

काभ्रेकाे मण्डनदेउपुरमा तीनधारा एकीकृत नमूना बस्तीको निर्माण सकिंदै

15 Shares

काभ्रेपलाञ्चोक ।

मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधाराकी पञ्चकुमारी तामाङ बस्ती निर्माणार्थ खटेको सय दिन नाघिसक्यो । नमूना तामाङ बस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उनी जनश्रमदानमा जुटेकी हुन् । अहिले पञ्चकुमारीसँगै गाउँका अन्य महिला–पुरुष पनि दिनहुँ नमूना बस्तीमा सकेको काम गर्दै आएका छन् ।

“गाउँमा चिटिक्कका घर एकै ठाउँमा बनाएर बस्ने, पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले आफैँ काम गर्न आउँछौँ” उनले भनिन् । आफूलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि आएको पहिलो किस्ताको रु ५० हजार पनि सोही बस्ती निर्माणमा दिएकी छिन् ।

हाल स्थानीय युवा वीरेश तामाङको दैनिकी पनि बस्ती निर्माणमा सकेजानेको काममा बितिरहेको छ । सय दिनभन्दा बढी जनश्रमदानमा जुटेका धेरै भएकाले सुन्दरबस्ती बनाउने योजनामा भरपुर लागेको उनको दावी छ ।

उनले संवाद समूहसँगको छलफलमा स्थानीय भूकम्पपीडितलाई आवास निर्माणका लागि ‘कारितास्’ नामक संस्थाले सरकारसँग सम्झौता गरी तीन वर्षअघि पहिलो किस्ताको रु ५० हजार दिएको र अन्य किस्ताका लागि समन्वय नगर्दा अहिले ऋण गरेर निर्माणलाई निरन्तरता दिनुपरेको बताए ।

बजेट अभावले बस्ती निर्माणमा समस्या देखिएपछि संवाद समूह काभ्रेपलाञ्चोकले यसबारे छलफल गरेको थियो । बस्ती निर्माणका लागि स्थानीयवासी ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको रु ५० हजार खर्चिएको छ । स्थानीय अगुवा रामबहादुर तामाङले सरकारबाट प्राप्त हुने आवास निर्माणका रकम आएपछि तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्तीको परिकल्पना गरिएको जानकारी दिए ।

“एक संस्थाले पहिलो किस्ता दिएर लथालिङग छाडेर हिँड्यो, तर पनि हामी अब सरकारबाट बाँकी किस्ता नआउन्जेल ऋण गरेर काम सुचारु गरेका छौँ” उनले भने। उनका अनुसार हाल रु ६५ लाख ऋण भइसकेको छ । लामा भन्छन्, “बजेट आएलगत्तै ऋण तिर्दै जानेछौँ ।”

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका परामर्शदाता राजकुमार कुँवरले तीनधाराका भूकम्पपीडितका लागि बाँकी दुई किस्ता सरकारमार्फत दिलाउने प्रक्रिया अन्तिम चरणमा पुगेकाले यही माघ महिनाभित्र दोस्रो किस्ताबापत प्रति परिवार रु एक लाख ५० हजार आउने जानकारी दिए । भूकम्पपीडित परिवारको थप किस्तासँगै नमूना बस्ती निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भने रु एक करोड २० लाख बजेट बिनियोजन गरेको छ । “विनियोजित रकम सम्झौताअनुसार आउने क्रममै छ” उनले भने ।

कारितास् नेपालका कार्यक्रम शाखाप्रमुख मणिन्द्र मल्ल भन्छन्, “स्थानीय भूकम्पपीडितलाई दोस्रो किस्ता दिने बेला परियोजनाको अवधि पनि सकिएकाले पुनःनिर्माण प्राधिकरणमा रितपूर्वक कागजात पेश गरेको दाबी गर्नुभयो ।” काभ्रेको मण्डनदेउपुर नपा–१० स्थित चण्डेनी तीनधारामा स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण थालिएको हो । यसका लागि ‘ह्याविट्याट फर ह्युम्यानिटिक’ नामक संस्थाले प्राविधिक सहयोग गरेको छ । हाल बस्तीका लागि छ घरको छानो लगाउने काम सकिएको छ भने चार घर छाउने तयारीमा छ । तीनकोठे एक तले एकै डिजाइनका एक घर निर्माण सम्पन्न गर्न रु ११ लाख लाग्ने बस्ती निर्माण समितिका अध्यक्ष आइतमान तामाङले जानकारी दिए ।

उनका अनुसार नगर कार्यालयले रु १० लाख थप सहयोग उपलब्ध गराएको छ । “घर निर्माणको लागि आवश्यक ब्लक यही नै निर्माण गरिरहेका छौँ” उनी थप्छन्, “बस्ती निर्माण कार्ययोजना अनुसार ३० घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्नेछ । नमूना बस्तीमा एक सामुदायिक भवन निर्माण गर्ने योजना छ । सामुदायिक भवन निर्माणका लागि रु ४० लाख छुट्याइएको छ । सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिँकी, डम्फु, ढ्याङग्रो लगायतका सामग्री सङ्ग्रहित गरिने तथा यसबारे जानकारीसमेत दिइने उनले बताए ।

योजना अनुसार बस्तीको बीचमा बगैँचा बन्नेछ । होम–स्टेमा आउने पाहुनाका लागि तामाङ समुदायको ‘टिपिकल’ खाना खुवाइनेछ । छ घरको एक ब्लक बनाइ पाँच ब्लकमा ३० वटा घर बनाइने भएको हो । नमूना बस्ती निर्माणलाई समयमै सम्पन्न गर्न नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी र ह्याविट्याट फर ह्युम्यानिटीका स्वयंसेवक ल्याउने तयारी भइरहेको तामाङले जानकारी दिए । नमूना बस्तीका ३० घर निर्माण सम्पन्न गरेपछि सामुदायिक भवन र बगैँचा निर्माण गर्ने योजना बनाइएको छ । रासस

प्रकाशित: १९ माघ २०७७ १४:२१ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी