सुरक्षित सुत्केरी गराउने बढे

सुरक्षित सुत्केरी गराउने बढे


डोटी । पछिल्लो समय जिल्लामा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको छ । यहाँका दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तहका सबै स्वास्थ्य संस्थाले बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी हुने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

बर्थिङ सेन्टरमा सुत्केरी हुन आउन थालेपछि जिल्लामा मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । पछिल्ला वर्षमा बर्थिङ सेन्टरमै गएर सुत्केरी गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएपछि मातृ तथा शिशु मृत्युदर घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए, “बर्थिङ सेन्टरमा सुत्केरी हुन आउनेको सङ्ख्या बढेको छ, जसले गर्दा आमा र बच्चाको मृत्यु दर निकै घटेको छ ।”

बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी हुन आउनेको सङ्ख्या महिनैपिच्छे बढ्दै जान थालेको स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्कले देखाएको छ । जिल्लामा रहेका कूल ५२ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाको विकट क्षेत्रमा पर्ने बडिकेदार गाउँपालिकाको घागल तथा बोगटान फुड्सिल गाउँपालिकामा पनि बर्थिङ सेन्टर स्थापना भएसँगै त्यहाँका विभिन्न ग्रामीण महिला पनि अहिले बर्थिङ सेन्टरमै आएर सुत्केरी हुन थालेका छन् । यहाँका कतिपय स्वास्थ्य चौकीले पनि सुरक्षित प्रसूति सेवा सञ्चालनमा ल्याएकोे भए पनि भवन अभावमा प्रसूति गराउन समस्या हुने गरेको कडीकेदार गाउँपालिका–१ की बन्दना कलेलले बताइन्, “गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन भएका छन् तर भवन अभावमा सुत्केरी हुन जाने महिलालाई समस्या हुँदै आएको छ ।”

स्वास्थ्य संस्थाले सुरक्षित प्रसूति सेवा सञ्चालन गरेसँगै स्वास्थ्य संस्थामै आएर प्रसूति गराउने महिलाको सङ्ख्या डोटीमा ७३ प्रतिशतले वृद्धि भइरहेको भए पनि सरकारी पूर्वाधारको अभावमा सेवा दिन समस्या परेको स्वास्थ्य कार्यालयका प्रमुख मलासीले बताए ।

Logo