काठमाडौँ, २२, पुस
बजारमा एक्कासि निर्माण सामग्रीको मूल्य बढेको छ । भारतबाट क्लिंकर, जिप्सम लगायतका निर्माण सामग्रीको कच्चा पदार्थ आयात गर्दा रक्सौलमा अनलोड समस्या भइरहेका बेला नेपालमा निर्माण सामग्रीको मूल्यवृद्धि भएको हो। निर्माण क्षेत्रको सिजन शुरू हुनै लाग्दा भएको मूल्य वृद्धिले उपभोक्ता मात्र होइन खुद्रा विक्रेता समेत मर्कामा परेका छन् । निर्माणकर्तासँग पहिले नै सहमति भई निर्माण सामग्री उपलब्ध गराउने सम्झौता भइसकेको अवस्थामा बिनाकारण एक्कासि मूल्यवृद्धि भएको खुद्रा व्यवसायीको गुनासो छ ।
उपभोक्ताले भने राजनीतिक परिवर्तन हुँदै गरेको अवस्थामा बजार अनुगमन नहुने र कमजोर सरकारी संयन्त्र रहेको फाइदा उठाउँदै विभिन्न वहाना बनाएर निर्माण सामग्रीको मूल्यवृद्धि गरिएको आरोप लगाएका छन् । तर निर्माण सामग्री उत्पादकले भने विद्युत् आपूर्ति कम हुँदै गएको, इन्धनको मूल्य बढेका कारण ढुवानी खर्च पनि वृद्धि भएको र क्लिंकर आयातमा देखिएको समस्याले सिमेन्टको मूल्यवृद्धि भएको बताएका छन् । भारतबाट आयात हुँदै आएको क्लिंकर, जिप्सम लगायत कच्चा सामग्री आयातमा देखिएको समस्या तथा उत्पादन र ढुवानी लागत बढ्नुले मूल्यवृद्धि गरेको नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए । सिमेन्ट उद्योग व्यवसायी अहिले मर्कामा परेकाले मूल्यवृद्धि स्वाभाविक रहेको उनको भनार्इ छ ।
उता छड तथा सिमेन्ट उद्योगले बिना कारण मूल्यवृद्धि गरेको भन्दै रूपन्देहीका हार्डवेयर व्यवसायीले मूल्यवृद्धि नियन्त्रणको माग गरी शनिबार देखि व्यवसाय नै बन्द गरी आन्दोलन गर्ने भएका छन् । छड तथा सिमेन्ट उद्योगले बिना कारण मूल्यवृद्धि गरेको भन्दै जिल्लाका हार्डवेयर व्यवसायीको संस्था रूपन्देही सिद्धार्थ निर्माण सामग्री व्यवसायी संघले बिहीबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन रूपमा व्यवसाय बन्द गर्ने निर्णय गरेका हुन् । जिल्लाका करिब १ हजार २ सय व्यवसायीले शनिबार देखि व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
नेपाल समाचारपत्रबाट
प्रकाशित: २२ पुष २०७४ ०७:१७ शनिबार