अन्य

मंगलबार निजी विद्यालय बन्द हुने

15 Shares

काठमाडौं, २३ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ ।

प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आज बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए ।

प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

यसैगरी बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको उनले जानकारी दिए । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ ।

पोखरेल मुटु रोगबाट पीडित रहेका थिए । प्याब्सनका सल्लाहकारसमेत रहेका ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताए । उनी विनायकसुधा (भिएस) निकेतनका संस्थापक प्रधानाध्यापकसमेत रहेका थिए ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् बनेका थिए ।

प्रकाशित: २३ पुस २०७४ १८:४५ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी