रोकिएन टिपर आतंक, आज पनि २ जनाको मृत्यु

रोकिएन टिपर आतंक, आज पनि २ जनाको मृत्यु


विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ टिपरले र सोही दिशातर्फ गइरहेको प्र २–०१–००१प १६०८ नं को मोटरसाइकललाई महानगर स्वागतद्वारस्थित ठक्कर दिंँदा दुई जनाको मत्यु तथा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरीको पतरा निवासी २२ वर्षीय हरेराम साह र सिरहा जिल्ला सुखिपुरका १९ वर्षीय ओजिर रायन र सप्तरीको रुपनी निवासी २० वर्षीय धनराज यादव रहेको प्रहरीले जनाएको छ । तीन जना सवार मोटरसाइकल ओभरटेकका क्रममा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

ती विद्यार्थी गोल्डक पार्क कलेजमा ओभरसिरयरमा अध्ययनरत रहेका छन् । घाइते यादवको प्रादेशिक (कोशी) अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना गर्ने चालक र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

करिव एकसाता अघि काठमाडौँको कलंकी स्थित अण्डररोडमा टिपरकै ठक्करबाट दुईजनाको ज्यान गएको थियो । त्यसको भोलिपल्ट पुन दार्चुलामा टिपरकै ठक्करबाट विद्यालय जाँदै गरेका एक बालकको ज्यान गएको थियो ।

त्यसैगरी शुक्रबार हिजो कैलालीमा टिपरले मोटरसाइकललाइ ठक्कर दिँदा घोडाघोडी नगरपालिका ४ रामशिखरझालाका २८ वर्षीय भुवन चन्दको मृत्यु भएको थियो ।

Logo