दिल्लीमा मतगणनाको तयारी पूरा, आजै नतिजा आउने

दिल्लीमा मतगणनाको तयारी पूरा, आजै नतिजा आउने


नयाँदिल्ली ।

नयाँदिल्लीमा शनिबार सम्पन्न विधानसभा चुनावको मतगणना आज हुँदैछ । दिल्ली निर्वाचन आयोगका प्रमुख रनबिर सिंहले मतगणनाका लागि दिल्लीका विभिन्न स्थानमा २१ वटा केन्द्रको व्यवस्था गरिएको छ ।

मतगणना कार्य बिहान ८ बजे शुरु हुनेछ । विद्युतीय मतदान भएकाले चुनावी परिणाम मङ्गलबार नै सार्वजनिक हुने अनुमान गरिएको छ । उनले दिल्लीको मतदान केन्द्रहरुमा खटिएका मतदान अधिकृतहरुले दिनरात लगाएर तथ्याँकहरु रुजु गरिरहेको जानकारी दिए ।

दिल्लीको सत्तारुढ आम आदमी पार्टी (आप) का नेताहरुले निर्वाचन समाप्त भएपछि विद्युतीय मतदान उपकरणहरु अनधिकृत तरिकाबाट अन्यत्र लगिएको भन्दै विरोध जनाएका छन् । तर प्रमुख आयुक्त सिंहले आपको उक्त दाबीमा सत्यता नरहेको दाबी गरे ।

उनले पर्यवेक्षक र सबै दलका उम्मेदवारहरुको रोहबरमा विस्तृत अनुसन्धान गरिसकेको पनि बताए । अनुसन्धानमा विद्युतीय मतदान केन्द्रहरु सबै ठीक र दुरुस्त अवस्थामा रहेको भेटिएको पनि उहाँले बताए ।

नयाँदिल्लीको ७० स्थानका लागि भएको निर्वाचनको नतिजाप्रति सबैको ध्यान गएको छ । चुनावपछि सार्वजनिक मतसर्वेक्षणले मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा रहेको आपले दुई तिहाई स्थान जित्ने अनुमान प्रस्तुत गरेका छन् ।
रासस, एएनआई

Logo