८७ वर्षिय रामबहादुरको नागरिकतामा उमेर २२ मात्रै ! (भिडियोसहित)

८७ वर्षिय रामबहादुरको नागरिकतामा उमेर २२ मात्रै ! (भिडियोसहित)


  • ज्ञानमणि नेपाल कालोटोपी
    सिन्धुपाल्चोक,

उमेरले उनी ८७ वर्षका भए तर पनि राज्यले दिने सामाजिक सुरक्षाभत्ता लगायतका अन्य सुविधा के हो उनले अहिलेसम्म अनुभव गर्न पाएका छैनन् । उनी अर्थात रामबहादुर आले । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ का स्थायी वासिन्दा आलेको नागरिकतामा उमेर २२ वर्ष लेखिएको छ । त्यहि कारणले उमेरले ८७ वर्ष पार गर्दा पनि उनले बृद्ध भत्ता नपाएका हुन् ।

अनुहार चाउरी परेको छ, आँखा पनि धरमर छन् । हिड्डुल गर्न पनि गाह्रो छ । वरिपरि आफूसरहका साथीभाईले राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाएको देख्दा उनलाई आफूले पनि त्यो भत्ता पाए हुन्थ्यो जस्तो लाग्छ । तर यसका लागि बाधक बनेको छ नागरिकता नै । ०४५ सालमा गाउँ पुगेको नागरिकता टोलीले रामबहादुरको नागरिकतामा उमेर २२ वर्ष भनेर लेखिदिए । त्यसैलाई आधार मान्दा उनी अहिले ५३ वर्षका मात्र भए तर उनको वास्तविक उमेर ८७ वर्ष हो । यतिबेला उनलाई सहयोग गरिदिने कोहि छैन । स्थानिय गौत्तम अर्यालले रामबहादुरका लागि सहयोगको पहल गरिदिन सामाजिक संजाल मार्फत अनुरोध गरेका छन् । उनका अनुसार रामबहादुर अहिले परिवारका एक्ला सदस्य हुन् ।

रामबहादुरको पहिले बनाइएको नागरिकता हराएपछि ०७४ सालमा प्रतिलिपी पनि बनाए । त्यसमा पनि उनको उमेर पुरानै (२२ वर्ष) उल्लेख छ । जारी मिती ०४५ बैशाख ५ गते उल्लेख छ । कर्मचारीले गरेको गल्तीको सजायँ अहिले रामबहादुरले भोगिरहेका छन् ।

उनको समस्यालाई हामीले जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकसम्म पु¥यायौं । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले नागरिकता बनाउँदाको रेकर्ड हेरेर सच्याउन सकिने बताइन् । उनका अनुसार रामबहादुरका आफन्तहरुको नागरिकताको रेकर्ड प्रशासन कार्यालयमा हेरेर त्यो अनुसार मिल्ने भए सच्याउन सकिन्छ । ‘उनका बाबुको जन्ममिती र दाजुभाई तथा दिदीबहिनीको जन्ममिती कस्तो छ, त्यो हेरेर मिल्न सक्ने सम्म हामी मिलाएर पठाइदिन्छौं । तर यसका लागि उनका छिमेकी र सम्बन्धित वडाले एउटा लिखित प्रमाण बनाइदिनु पर्छ ।’ चेम्जोङले भनिन् । भिडियो हेर्न यहाँ क्लीक गर्नुहोला :

 

Logo