संखुवासभा, ३० पुस ।
संखुवासभामा जिप दुर्घटना भएको छ । जिल्लाको मकालु गाउँपालिकामा भएको दुर्घटनामा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कटुवाल र अर्का व्यक्ति सुरेश राईको मात्रै सनाखत भएको छ ।
स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । जीपमा गाउँपालिकाका अध्यक्षसहित पुनर्निमाण प्राधिकरणका कर्मचारी सवार थिए ।
उनीहरू जिल्ला समन्वय समितिको आयोजनामा भएको एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएको बताइएको छ ।
खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका—३, सामाटारमा दुर्घटनामा परेको हो ।
अहिले प्रहरीको टोली घटनास्थल तर्फ गइरहेको छ ।
प्रकाशित: ३० पुस २०७४ १५:०३ आइतबार