चितवन र सर्लाहीमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु

चितवन र सर्लाहीमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु


सर्लाही ।
चितवन र सर्लाहीमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु र एक घाइते भएका छन् ।

बरहथवा नगरपालिकाको हिरापुरबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गरेको बिआर ३० एच ६७९८ नं.को मोटरसाइकललाई गोडैता नगरपालिका–७ मोहनचोकस्थित नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मलङ्गवा–२ निवासी २० वर्षीय उपेन्द्र साह सोनारको घटनास्थलमै मृत्यु भएको छ । सोही मोटरसाइकलको पछाडि बस्ने मलङ्गवा–२ का २० वर्षीय राजेन्द्र यादवको जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।

गएराति मोटरसाइकललाई चारपाङ्ग्रे गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीको अनुमान छ । ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच सर्लाहीको लालबन्दी नगरपालिका–१६ भोर्लेनीस्थित रानीगञ्ज परवानीपुर भित्री सडकखण्डमा ना १९ प २१६० नं.को मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक वृद्ध महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–१६ निवासीे ७० वर्षीया जोककुमारी थापा भएको प्रहरीले जनाएको छ । शनिबार साँझ ठक्करबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लालबन्दीको हेल्थ केयर प्रालिमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

चितवनमा भएका दुर्घटनामा दुई जनाको मृत्यु, नौ घाइते

यस्तै चितवन जिल्लामा भएका दुई दुर्घटनामा परी दुई जनाको मृत्यु र नौ घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष र आठ महिनाका शिशु रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शनिबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको बा ४ ख ९५०९ नं.को बसले विपरीत दिशातर्फ जाँदै गरेको ना ३९ प १९२४ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन । मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

यस्तै खैरहनी नगरपालिका–३ तरकारीचोकमा बस र ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु र नौ घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरी मनोरसा–६ बस्ने गुन्दो मण्डलका आठ महिनाको छोरा सत्यम मण्डल रहेका छन् ।

जलेश्वरबाट कामाडौँतर्फ जान आउँदै गरेको ना ७ ख ३२४८ नंको बस र सोही दिशाबाट आइरहेको ना६ख १५०६ नंको ट्रक ठक्करहुँदा १० जना घाइते भएका थिए । घाइतेमध्ये मण्डलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

अन्य घाइतेमध्ये दुईको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँच जनाको चितवन मेडिकल कलेज र अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बस, ट्रक र ट्रकचालक नियन्त्रणमा रहेको भए पनि बस चालक फरार भएको प्रहरीले जनाएको छ ।
रासस

Logo