चलचित्र विकास बोर्डको नयाँ दावेदारमा भुवन केसी

चलचित्र विकास बोर्डको नयाँ दावेदारमा भुवन केसी


काठमाडौं ।

अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको रिक्त अध्यक्षको नयाँ दावेदारका रुपमा प्रकट भएका छन् । उनी यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको निकट हुन खोजेर दावेदार बनेका हुन् । स्रोत भन्छ – ‘उनी केही पटक बालुवाटार पुगेर आश्वस्थ बनेका छन् ।’ यसअघि दयाराम दाहाल, आकाश अधिकारी र लय संग्रौला अध्यक्षको दावेदार भनी बजारमा जोडघटाऊ चलेको थियो ।

भुवन केसी अघिल्लो चुनावमा तत्कालीन एमालेवाट काठमाडौं क्षेत्र नं १ को उम्मेदवार बन्ने हल्ला थियो । त्यसपछी समानुपातिकमा उम्मेदवार बन्ने पनि हल्ला चल्यो । राष्ट्रिय सभाको सांसद बन्ने समेत अर्को हल्ला चल्यो । त्यसपछी उनी चलचित्र विकास बोर्डमा जाने पनि बताईयो । तर उनका चाहाना कहिल्यै पुरा हुन पाएनन् । अहिले फेरि उनी बोर्डको अध्यक्ष बन्ने हल्ला सुरु भएको छ ।

भुनव केसीको नाममा चलेका त्यस्ता हल्लाहरु किन हल्लामा नै सीमित भए त ? स्रोत भन्छ, ‘उनी माधव नेपालको पछी लाग्दा त्यो हल्लामा सीमित भयो । तर अहिले भने उनी प्रधानमन्त्री केपी शर्मा ओली कहाँ धाउन थालेका छन् । त्यसकारण यस पटकको हल्ला वास्तविकतामा परिणत हुन सक्छ ।’

स्मरण रहोस् चलचित्र विकास बोर्डको अध्यक्ष बन्न स्नातक पास गर्नुपर्छ । धेरैजसो चलचित्रकर्मीले विकास बोर्डका लागि दावेदारी प्रस्तुत गर्न यो मापदण्ड पुरा गर्ने अवस्था छैन । तर भुवनले भने धेरै अघि बी.कम पास गरेका छन् । उनलाई रोक्ने एउटै संस्था छ, पार्टीको भातृ संगठनको रुपमा रहेको जनसांस्कृतिक महासंघ । उनी यस महासंघमा आवद्ध छैनन् ।

साधारणतया जनसांस्कृतिक महासंघले सिफारिस नगरि संचार मन्त्रालयले कसैलाई पनि बोर्डमा नियुक्त गर्ने छैन । तर, प्रधानमन्त्रीले साँच्चै सिफारिस गरेर पठाएको खण्डमा भने सञ्चारमन्त्रीले रोक्न सक्दैनन् –‘स्रोतको विश्लेषण छ ।’

Logo