शैक्षिक विकासमा समुदायको महत्वपूर्ण भूमिका हुन्छ : पूर्व राष्ट्रपति

शैक्षिक विकासमा समुदायको महत्वपूर्ण भूमिका हुन्छ : पूर्व राष्ट्रपति


तनहुँ ।
पूर्व राष्ट्रपति डा रामवरण यादवले शिक्षा क्षेत्रको विकासका लागि समुदायको महत्वपूर्ण भूमिका रहने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको मंगलबार स्वर्णमहोत्सवमा पूर्व राष्ट्रपति यादवले समुदायको निरन्तर खबरदारी रहे शिक्षा क्षेत्रको विकास सम्भव हुने विश्वास व्यक्त गरेका हुन् ।

समुदाय, शिक्षक र अभिभावकको हातेमालोबाट शिक्षाको गुणस्तर अभिवृद्धि हुनसक्ने चर्चा गर्दै पूर्व राष्ट्रपति यादवले भने, “पञ्चमुनीदेव विद्यालय आज यो अवस्थामा आइपुग्न समुदायको ठूलो हात रहेको सुन्न पाउँदा खुशी लागेको छ ।” देशको शिक्षाको स्थिति राम्रो नरहेको बताउँदै पूर्व राष्ट्रपति यादवले धेरै राजनीतिक परिवर्तन भए पनि शिक्षाको अवस्था भने परिवर्तन हुन नसकेकोमा दुःखेसो गरे ।

विद्यालय तथा क्याम्पस धेरै स्थापना भए पनि गुणस्तरीय विद्यालय, क्याम्पसको अत्यन्तै कमी रहेको भन्दै पूर्व राष्ट्रपति यादवले संसारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको शिक्षा आवश्यक रहेकोमा जोड दिए । प्रविधिलाई शिक्षासँग जोड्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको बताउँदै पूर्व राष्ट्रपति यादवले बालबालिकालाई दुर्व्यसनीबाट बचाएर दक्ष बनाउनुपर्नेमा जोड दिए। अबको युग प्राविधिक शिक्षाको भएको चर्चा गर्दै उनले प्राविधिक शिक्षामा सरकारले लगानी बढाउनुपर्नेमा सुझाव दिए ।

पूर्व राष्ट्रपति यादवले जनताले छानेको प्रतिनिधिबाट निर्माण भएको नेपालको संविधान लोकतान्त्रिक र गणतान्त्रिक, समावेशी र समानुपातिक रहेको बताए । संविधानले विधिको शासन स्थापित गरेको बताउँदै उनले वर्तमान जनप्रतिनिधिले संविधानलाई ठिक ढङ्गबाट प्रयोग गरी मुलुकको विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइराला, नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलगायतले शिक्षा क्षेत्रको विकासका लागि सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक ध्रुव मल्लले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विसं २०७४ मा सरकारबाट नमूना विद्यालय घोषणा भएको विद्यालयमा दुई हजार ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म नेपाली तथा अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिताका विजेतालाई सो अवसरमा पुरस्कार वितरण गरिएको थियो । भलिबल प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेस्थित जनप्रेमी माध्यमिक विद्यालय प्रथम, आयोजक विद्यालय पञ्चमुनीदेव द्वितीय र कास्कीको गोगन माध्यमिक विद्यालय तृतीय हुन सफल भएको थियो । विजेताले क्रमशः नगद रु ५० हजार, ३० हजार र २० हजार प्राप्त गरेको छ ।स्वर्णमहोत्सवको अवसरमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता, दौड प्रतियोगिता, विज्ञान प्रदर्शनी लगायतका कार्यक्रम सम्पन्न भएका थिए ।
रासस

Logo