यी हुन् विश्वभर सन् २०२० मा भएका १० मुख्य घटनाक्रमहरू

यी हुन् विश्वभर सन् २०२० मा भएका १० मुख्य घटनाक्रमहरू


सन् २०२० समाप्त भइसकेको छ । वर्ष २०२० यस्तो वर्ष हो जुन भविष्यमा सायद बिर्सन गाह्रो होला । वर्ष २०२० एकदमै अशान्त, आक्रान्त, वर्ष रह्यो । यो वर्ष संसारभरिका व्यक्तिहरुका लागि कष्टपूर्ण साबित भयो । समग्रमा वर्ष २०२० विश्वकै लागि कष्टकर बन्यो ।
सन् २०२० कष्टकर बन्नुका घटनाहरु यस्ता छन् :

१. कोरोना भाइरस (कोभिड– १९)
गत वर्षको डिसेम्बरमा पुष्टि भएको कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमणले विश्वलाई प्रभावित बनाएको छ । सायदै कुनै भाइरसले विश्व परिवर्तन गर्ला भन्ने अनुमान कसैले गरेको थिएन होला तर, कोभिडले विश्वलाई मात्र होइन मानब जीवनलाई पनि परिवर्तन गरिदिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको यस भाइरसलाई गत वर्षको मार्चमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारीको रुपमा घोषणा गरेको थियो । यस्तै गत अक्टोबरसम्ममा विश्वको १० प्रतिशत जनसंख्या कोरोना भाइरसबाट संक्रमित भइसकेको तथ्यांक सार्वजनिक भइसकेको छ । त्यस्तै लाखौं मानिस गरिबीको रेखा मुनी धकेलिएको तथ्य पनि अगाडि छ ।

विश्वमा शक्तिशाली मानिएका राष्ट्रहरुले समेत कोरोना भाइरस नियन्त्रण गर्न नसकेको अवस्था छ । न्युजिल्यान्ड र भियतनाम जस्ता मुलुकले भने भाइरस संक्रमणलाई नियन्त्रण गर्ने कार्यमा तुलनात्मक सफलता हासिल गरेका छन् । विश्वकै शक्तिशाली राष्ट्र अमेरिका भाइरसबाट बढी प्रभावित भएको छ । अमेरिका लगायतका मुलुकमा अवस्था अझै भयावह छ ।

कोरोना भाइरसले विश्वका धेरै मुलुकका सरकारको अर्कमण्यतालाई उदाङगो बनायो । यस महामारीका विरुद्ध लड्न विकास गरिएको खोपलाई अनुमति दिएर प्रयोग सुरु गर्ने काम अघि बढे पनि तल्लो तहसम्म कहिलेदेखि उपलब्ध हुने भन्ने टुङगो छैन । यस किसिमको भाइरसले विश्वलाई फेरि पनि अक्रान्त बनाउने नै छ । त्यसको नियन्त्रणका लागि अहिलेको विश्वले कति पाठ सिकेको छ । त्यो भविष्यले अवश्य बताउने नै छ ।

२. अमेरिकी निर्वाचनमा ट्रम्पद्वारा धाँधलीको आरोप
सन् १९०० यता सबैभन्दा धेरै ६६.७ प्रतिशत मत खसेको यस पटकको अमेरिकी राष्ट्रपतिय निर्वाचन धेरै कोणबाट विशेष रह्यो । कुल १५ करोड ५९ लाख अमेरिकी मतदाताले मतदानमा भाग लिइरहँदा झण्डै १० करोडले हुलाक र इमेलमार्फत मत दिएका थिए । मत जो वाइडनको पक्षमा रह्यो । वाइडनसँग पराजित भएको प्रस्ट हुँदा पनि ट्रम्पले निर्वाचनमा धाँधली भएको आरोप लगाइरहे । जसले विश्वको ध्यानाकर्षण गरायो । डिसेम्बर १४ मा इलेक्ट्रोल कलेजले वाइडनलाई औपचारिकरूपमा राष्ट्रपति घोषित गरिसकेको अवस्थामा आगामी वर्षबाट अमेरिकाको विदेश नीति कस्तो हुने भन्ने बहस सुरु भइसकेको छ । बहुपक्षीय फोरमको महत्वलाई नर्कादै, अमेरिका पहिलो लगायतको पपुलिस्ट नारा अगाडि सारेका ट्रम्पभन्दा वाइडन कति फरक देखिनेछन्, हेर्न बाँकी नै छ । तर, अमेरिकी निर्वाचनमा पराजित ट्रम्पले निर्वाचनको मतपरिणामलाई स्वीकार गर्न गरेको आनाकानीले विश्वका विभिन्न मुलुकमा रहेका तानाशाहहरूलाई जनताको जनादेश नमाने पनि हुन्छ भन्ने सन्देश राम्रै दिएको र त्यसको प्रभाव पनि देखिन थालेको छ ।

३. बेलारुसमा भएको आन्दोलन
कुनैबेला सोभियत संघको सदस्य रहेको बेलारुसमा यस वर्ष धाँधलीरहित निर्वाचनको मागसहित हजारौ नागरिक सडकमा ओर्लिए । युरोपका अन्तिम तानाशाह भनिएका अलेक्जेन्डर लुकसान्कोले अगस्ट ९ मा आफूले राष्ट्रपतिय निर्वाचनमा ८० प्रतिशत सम्म मत प्राप्त गरेको दाबी गरेपछि बेलारुसमा आन्दोलन सुरु भयो । लगातार छैठौं पटक बेलारुसको राष्ट्रिपति बन्ने दाउमा रहेका लुकसान्कोको दाबीलाई विपक्षी र बेलारुसका अधिकांश नागरिकले त खारेज गरे नै, अन्तराष्ट्रिय समुदायले पनि उनको दाबीमा सत्यता देखेन ।

विपक्षी उम्मेद्वारलाई निर्वाचनमा भाग लिन अवरोध गर्ने र भाग लिएकालाई विभिन्न आरोप लगाएर गिरफ्तार गर्ने रणनीति लिएका लुकसान्कोले करिब १७ हजार आन्दोलकारीलाई पक्राउ गरेको बताइन्छ । छिमेकी रुसको सर्मथनमा लुकसान्काले आन्दोलनलाई बलपूर्वक नियन्त्रणमा लिए पनि युरोपियन युनियनले बेलारुसलाई प्रतिबन्ध लगायो । त्यस्तै, अ‍ेमरिका र बेलायत लगायतका मुलुकले पनि लुकसान्कोलाई ताजा निर्वाचनमा जान भने । आन्दोलन मत्थर भएको जस्तो देखिए पनि बेलारुसमा उत्पन्न आक्रोश निवारण भइसकेको छैन । त्यसकारण, सन् २०२१ मा बेलारुसको आन्तरिक राजनीतिमा फेरी तरङगित हुने सम्भावना ज्युँदै छ ।

४. जर्ज फ्लोइडको हत्या
अमेरिकामा व्याप्त रहेको जातीय विभेद र रंगभेदी व्यबहारमाथि बहस हुँदै आएपनि अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भएपछि त्यस मुलुकमा आन्दोलन चर्कियो । प्रहरीले फ्लोइडको हत्या गरेपछि अमेरिकामा सुरु भएको प्रदर्शन युरोप, दक्षिण अमेरिका र अफ्रिकासम्म फैलियो । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि अमेरिकामा मात्र होइन, आफ्नो मुलुकमा पनि रंगभेद साच्चैको समस्याका रूपमा रहेको बताए । उता चीन र इरान जस्ता मुलुकले अमेरिका आफैँ जातीय विभेद र रंगभेदी व्यवहारले जेलिए पनि अरु मुलुकलाई मानव अधिकारका विषयमा पढाउँदै हिँडेको भन्न भ्याए ।

५.अमेरिकी राष्ट्रपति ट्रम्पमाथिको त्यो महाअभियोग
सामान्यतया अमेरिकी राष्ट्रपतिमाथि महाअभियोग लगाइएको घटना वर्षभरी घटेका घटनाहरूमध्ये सर्वाधिक चासोका साथ हेरिएको घटना हो । तर यो घटनालाई कोरोना भाइरसले ओझेलमा पारिदिएको थियो । आगामी जनवरी २० मा ह्वाइटहाउस छाड्नु पर्ने बाध्यतामा रहेका ट्रम्प अमेरिकी इतिहासमा महाअभियोग सामना गर्ने तेस्रो राष्ट्रपति बने । यसअघि आन्ड्रिउ जोनसन र बिल क्लिन्टनलाई महाअभियोग लगाइएको थियो । अख्तियारको दुरूपयोग र कंग्रेसको काम कारबाहीमा अवरोध सिर्जना गरेको भन्ने आरोपका साथ ट्रम्पमाथि लगाइएको महाअभियोगलाई अमेरिकी सिनेटले अस्वीकार गरेको थियो ।

६. चीन सार्वाधिक विवादित राष्ट्र
चीन विश्व राजनीतिमा जिम्मेवार ‘स्टेक होल्डर’ का रूपमा अगाडि आउने अनुमान गरिए पनि विश्वको दोस्रो अर्थतन्त्रले २०२० मा देखाएको आक्रमकताले त्यस्तो अनुमानलाई गलत सावित गरिदिएको छ । वर्षभरी नै चीन विवादमा आइरह्यो । चीनले ‘उल्फ वारियर डिप्लोमेसी’ अंगिकार गरेको भनियो । जस अनुरूप चिनियाँ राजनीतिक व्यवस्था र सरकारको क्रियाकलापको आलोचना गर्नेमाथि उसका अधिकारीहरू सामाजिक सञ्जालमार्फत खनिने गरेको देखियो । अप्रिलमा अस्ट्रेलियाले कोभिड–१९ कसरी सुरु भयो र फैलियो भन्ने बारेमा स्वतन्त्र छानबिन गर्नुपर्ने माग राख्दा चीन एसिया प्रशान्तीय मुलुकसँग ब्यापार युद्ध सुरु गर्ने मुडमा पुग्यो । त्यस्तै, जुनमा चीन र भारतका सीमा सुरक्षा दस्ता एकआपसमा भिडे । त्यसको एक हप्तापछि चीनले हङकङमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित नयाँ नियम लागू ग¥यो । जसको उद्देश्य, हङकङमा चलिरहेको आन्दोलनलाई नियन्त्रणमा लिनु थियो ।

अमेरिकाले ताइवानसँग सम्बन्ध समधुर बनाउनेतर्फ अघि बढिरहँदा, चीन आक्रोशित देखियो । साथै, चीनले उइगुरमाथि नियन्त्रण राख्न कठोर कदम चाल्न पनि बन्द गरेन । कोभिड–१९ बाट प्रभावित आर्थिक अवस्थालाई पुनर्जागृत गर्ने कार्यमा तुलनात्मक सफलता हासिल गरेपनि चीनको अमेरिका र युरोपियन मुलुकहरूसँगको सम्बन्धमा सुधार हुने संकेत देखा परेन ।

७. अब्रहाम सहमति
वर्ष २०२० मा संयुक्त अरब इमिरेट्स (यूएई) ले इजरायललाई मान्यता दिएको खबर कुनै पक्षका लागि सुखद भए त कुनै पक्षका लागि दुःखद । अमेरिकी मध्यस्थतामा यूएई र इजरायले सहमति गरेको भनिरहँदा प्यालेस्टिनका नागरिकको मनमा भने चिसो पस्नु स्वभाविक थियो । वेस्ट ब्याङकमा आफ्ना नागरिकका लागि वस्ती विकास गरिरहेको इजरायलले राष्ट्रका रूपमा अगस्ट १३ मा यूएईबाट मान्यता पाउँदा अमेरिकी राष्ट्रपति ट्रम्प खुशी देखिए । उता बहराइन, सुडान, र मोरोक्कोले पनि इजरायललाई मान्यता दिने घोषणा गरे । त्यस्तै सेप्टेम्बर १५ मा ह्वाइटहाउसमा एक कार्यक्रम आयोजना गरी ‘अब्रहाम एर्कड’ को घोषणा गरियो । जसले गर्दा खाडीमा इजरायल र मुस्लिम मुलुकबीच सम्बन्ध सुधार गर्ने अपेक्षा गरिएको छ ।

अहिलेका लागि यूएई लगायतका केही मुलुकले मात्र इजरायललाई मान्यता दिई अब्रहाम एकर्डमा हस्ताक्षर गरे पनि कालान्तरमा साउदी अरब समेत त्यस सहमतिमा आइपुग्ने अपेक्षा गरिएको छ । प्यालेस्टिन र उसका जनताले यस सहमतिलाई विरोध गरिरहे पनि त्यसतर्फ ध्यान दिइएको छैन । इजरायललाई मान्यता दिए वापत अमेरिकाले यूएईलाई हतियार बेच्नेछ । त्यस्तै, अमेरिकाले आन्तरिक राजनीतिले जेलिएको सुडानमाथि प्रजातान्त्रिक व्यवस्थाको सृदृढिकरणका लागि दबाब दिनेछैन ।

८. अस्ट्रेलियाको त्यो डढेलोबाट सुरु भएको वातावरणीय प्रकोप

वर्ष २०२० पनि वातावरण सम्बन्धि समस्या आइ नै रहे । डढेलो, आँधी, खडेरी लगायतका समस्याले विश्वका अधिक मुलुकलाई असर ग¥यो । वर्षको सुरुवात अस्ट्रेलियाको डढेलोबाट सुरु हुँदा अमेरिकाका पश्चिमी भाग पनि त्यस समस्याबाट अछुतो रहेनन् । त्यस्तै, अमेरिका, मध्य अमेरिका र दक्षिणपूर्वी एसियाली मुलुकहरूले शक्तिशाली आँधीको सामना गर्नुप¥यो । उता अमेरिका मात्र होइन, कयौं अफ्रिकी मुलुकहरू खडेरीको मारमा परे । यस वर्ष कोभिड–१९ का कारण कार्बन उत्सर्जनमा कमी आयो ।

९. अमेरिका र इरानबीचको खराब सम्बन्ध
वर्षौदेखि तनावग्रस्त रहेको अमेरिका र इरानबीचको सम्बन्ध २०२० मा झन् खराब बन्यो । जनवरी ३ मा अमेरिकी ड्रोनको आक्रमणमा परी इरानी कमाण्डर कासिम सुलेमान मारिएपछि इरानले पनि जवाफ फर्कायो । प्रतिक्रिया स्वरूप, इरानले छिमेकी इराकमा रहेका अमेरिकी सेनाका बेसहरूप्रति लक्षित गरी रकेट प्रहार गर्यो । तनाब यतिमै मत्थर भएन । अप्रिलमा पर्सियन गल्फमा इरानका तर्फबाट अमेरिकी जहाजको आगमनमा अवरोध सिर्जना गरियो । अवरोध जारी भए, अमेरिकाले जवाफी कारबाही गर्ने धम्की राष्ट्रपति ट्रम्पबाट आयो । लामो दुरीका क्षेप्यास्त्र विकासमा निरन्तर लागिपरेको इरानले २०२० मै पहिलो सैन्य भू–उपग्रह निर्माणमा सफलता हासिल गयो । त्यसैबीच अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गर्यो । युरोपेली मुलुकले कोभिड–१९ का कारण खराब इरानी अर्थतन्त्रमा थप प्रतिबन्ध नलगाउन अमेरिकालाई आग्रह गरे पनि ट्रम्पले वास्ता गरेनन् ।

१०. तेल उत्पादक मुलुक र कम्पनीको खराब वर्ष
तेल उत्पादन गर्ने मुलुक र कम्पनीहरूका लागि वर्ष २०२० खराब रह्यो । कोभिड–१९ का कारण तेलको माग घटिरहेको अवस्थामा तेल आपूर्ति गर्ने मुलुकहरूको समूह ओपेक र आपेक प्लसमा तेल मूल्यमा स्थिरता ल्याउन भन्दै तेल उत्पादन घटाउन प्रस्ताव राखियो । तर ओपेक सदस्य मुलुक साउदी अरबले राखेको उक्त प्रस्ताबलाई ओपेक प्लस सदस्य मुलुक रुसले इन्कार गर्यो ।

विश्वमा धेरै तेल उत्पादन गर्ने मुलुकहरूको सूचिमा साउदी र अमेरिकापछि तेस्रो स्थानमा रहेको रुसले तेल उत्पादन घटाउने प्रस्तावमा सहमति नदिएपछि थप अन्यौलता छायो । तर केही समयपछि साउदीले आफूले निर्यात गर्ने तेलको मूल्य घटाउँदै उत्पादन पनि बढायो । जसले गर्दा अन्तराष्ट्रिय तेल बजारमा तेलको मूल्य थप घट्यो । र, अप्रिलमा अमेरिकी तेल बजारले इतिहासकै कम मूल्यमा बेच्न बाध्य भयो । ओपेक र ओपेक प्लसबीच तेलको उत्पादन घटाउने सहमति कायम भएपछि तेलको मूल्य केही हदसम्म स्थिर बन्यो । त्यसैले तेल उत्पादन गरेर अर्थतन्त्रलाई बलियो बनाएका मुलुकहरूका लागि वर्ष २०२१ पनि उत्साहजनक हुने देखिँदैन ।

Logo