कर्णाली प्रदेशले बाल सहभागिता सम्बन्धी कार्यविधि ल्याउँदै

कर्णाली प्रदेशले बाल सहभागिता सम्बन्धी कार्यविधि ल्याउँदै


सुर्खेत ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बालबालिकाको सहभागिता सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेको छ । मन्त्रालयको सामाजिक विकास महाशाखाको संयोजकत्वमा तयार पारिएको प्रारम्भिक मस्यौदामाथि सरोकारवालासँग छलफल गरिएको छ ।

बालसहभागिताका लागि भेदभावरहित, सर्वोत्तम हित, दीर्घजीवन र विकास तथा विचार अभिव्यक्तिको अवसरलाई सम्मान गरिने प्रारम्भिक मस्यौदामा उल्लेख छ । मस्यौदामा बालबालिकाको सहभागितालाई संस्थागत विकास गर्नका लागि डालो कोष (बास्केट फण्ड) स्थापना गरिने प्रावधान राखिएको छ । उक्त कोषको परिचालन गर्न बेग्लै निर्देशिका बनाइने उल्लेख छ ।

समाज जागरण केन्द्र (स्याक) सुर्खेतको सहजीकरणमा मन्त्रालयद्वारा आयोजित मस्यौदामाथिको छलफल कार्यक्रमका सहभागीहरुले अपाङ्गता भएका बालबालिकाको अर्थपूर्ण सहभागितालाई कार्यविधिले समेट्न नसकेको बताए । सरोकारवालाहरुले संस्थागत संरचनामै बालबालिकाको सहभागिता बढी हुनुपर्ने, बाल अधिकार हनन्का उजुरीमाथि सुनुवाइ भए÷नभएको निगरानी बढाउने संयन्त्रलाई थप फराकिलो बनाउनुपर्ने, बालहितविपरीतका गतिविधिमा उनीहरुको प्रयोग रोक्न स्पष्ट कानूनी प्रावधानको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

स्याकका कार्यकारी निर्देशक टीकाराम आचार्यले बालबालिकासँग सम्बन्धित कानूनहरुको व्यवहारिक कार्यान्वयनका लागि कार्यविधि मागर्दशक बन्ने धारणा राखे । त्यस्तै सामाजिक विकास मन्त्रालयका कानून अधिकृत दीपा परियारले प्राप्त सुझावलाई कानूनी ढाँचामा रुपान्तरण गरेर कार्यविधिलाई अन्तिम रुप दिइने बताए ।

Logo