विचौलियाको फैलँदो साम्राज्य

विचौलियाको फैलँदो साम्राज्य


  • डा. राजेन्द्र कोजु –

विचौलियाका कारण कृषि तथा कृषिजन्य उत्पादनहरू मारमा परेका समाचारहरू व्यापक आइरहेका छन् । साथसाथै किसानहरू आन्दोलित भइरहेका पनि छन् । तर दुर्भाग्य, कृषि प्रधान देशमा किसानहरूको आन्दोलन उत्कर्षमा पुग्न सकिरहेको छैन । आन्दोलनको रापताप व्यापक हुन सकेको छैन । यसका धेरै कारण छन् । किसानहरू वा श्रमिकहरूसँग आन्दोलनमा होमिने र संगठनमा सक्रिय भएर लाग्ने फुर्सद छैन । किसानका नेताहरू सत्ता र पदको सौदबाजी गर्दै व्यस्त छन् । नेताहरूका लागि फाइदा लुट्ने र राजनीतिमा लागेको फाइदा लिने र फसल टिप्ने असल समय आज छ । तर नेतालाई नेता बनाउनेहरूको मर्म विजोग छ । यसैको एउटा उदाहरण हो, किसानहरूको समस्या र आवाज ।

किसानहरूको आवाजलाई त्यति धेरै महत्व दिइरहेको अवस्था छैन । मिडियामा पनि किसानहरूको आवाजलाई त्यति धेरै स्थान दिइरहेको अवस्था देखिँदैन । देओस् पनि कसरी किसानले मिडियाहरूलाई विज्ञापन दिन सक्दैन, खर्च दिन सक्दैन । तसर्थ वास्तविक किसानहरूको आवाज सडकमै अलपत्र छन् । सदनमा किसानहरूको आवाजलाई वुलन्द गर्ने प्रभावकारी नेतृत्वको पनि अभाव देखिन्छ । योसँगै किसानहरूले दिनरात, घामपानी नभनी गरेको उत्पादन विचौलियाहरू मार्फत बजार पुर्‍याइँदा किसानसँग सस्तोमा किन्ने तर उपभोक्तालाई अधिकतम मूल्यमा बेच्ने गरेका कारण वास्तविक किसानहरू ठगिएको यथार्थ छर्लङ्ग हुँदै छ ।

विचौलियाहरू ‘काम गर्ने कालु मकै खाने भालु’ भन्ने नेपाली उखान चरितार्थ गर्दै छन् । श्रमको उचित मूल्य नपाएको, उत्पादनको उचित मूल्य नपाएका कारण किसानहरू खेती किसानीतर्फ आकर्षित हुन छाडेका छन् । यसले देशको उत्पादनशील भूमि बाँझो भइरहेको यसले राष्ट्र उत्पादन मात्र घटिरहेको छैन बेरोजगारी र परनिर्भरता समेत सिर्जना भइरहेको छ । कृषि पेशा स्वरोजगारी सिर्जना गर्ने क्षेत्र मात्र होइन स्थानीय स्रोत र साधनको समेत व्यापक उपयोग हुने क्षेत्र हो ।

यसले मानिसका सम्पूर्ण आवश्यकताहरू पूर्ति गर्ने र मानिसलाई स्वावलम्बी र स्वाभिमानी बन्न सिकाउँछ । तर विचौलियाहरू मात्र मोटाउने र किसानहरूको जीवनस्तर नउक्सने अवस्था सिर्जना हुनुमा दोषी को त ? यसको समाजशास्त्रीय विश्लेषण जरुरी छ । सामान्यतः राज्यका सम्पूर्ण अववयवहरू सही ढंगबाट सुसञ्चालन र व्यवस्थापन गर्न नसक्नुमा राज्य र सरकार नै दोषी मानिन्छ । सामाजिक घटना र राज्यभित्र हुने विभिन्न अपराध, विसंगतिलाई समाजशास्त्रीय विश्लेषण गर्न जरुरी हुन्छ ।

हाम्रो सामाजिक परम्परा, रीतिरिवाज, संस्कार र सामाजिक व्यवहारअनुसार मानिहरूको सोच र शैली निर्माण हुने गर्दछ । हाम्रा चिन्तनहरू समाजको बनावट र सामाजिक मूल्यमान्यताबाट निर्देशित हुने गर्दछ । त्यसकारण समाजका विभिन्न परिघटनाहरूमा सामजिक संस्कार पनि अपरोक्ष रूपमा जिम्मेवार हुने गर्दछ ।

हाम्रा थुप्रै सामाजिक व्यवहारहरू पनि विचौलिया मार्फत नै हुने गरेका छन् । नेपाली समाजमा विवाह बन्धन गरिँदा वरवधु जुराउने–मिलाउने कार्यको लागि लमी खटाउने चलन रहिआएको छ । लमी पनि विचौलियाकै एक रूप हो । परम्परा अनुसार इच्छा पूरा गर्न ईश्वर वा भगवानसँग प्रार्थना गर्दा वा आफ्नो इच्छा पूरा होऊन् भन्नाका खातिर भाकल गरिन्छ र त्यो भाकल पूजा भाकल गर्ने मान्छे स्वयंले नगरी आचार्य वा ब्राह्मण खटाउने चलन छ । यो अभ्यास पनि विचौलियाकै एउटा स्वरूप हो । भुत भगाउन होस् वा पन्छाउन होस् जान्नेलाई लगाउने हाम्रो परम्परा र विश्वास कायम छ ।

सारमा भन्नुपर्दा विचौलिया अभ्यास नेपाली समाजका लागि नयाँ होइन । भगवानकोमा जाँदा र मन्दिरमा पूजाआज गर्दा समेत पुजारीले विचौलियाकै रूपमा कार्य गर्दछन् । यी सबै अभ्यास, परम्परा, संस्कार रीतिरिवाजका नाममा विचौलिया हावी हुने नेपाली समाजमा श्रमिक किसानहरूले उत्पादन गरेको बाली उत्पादन बजारसम्म पुर्‍याउने विचौलिया सक्रिय हुनु नौलो भएन । तर यहाँ विचौलिया साम्राज्य हावी छ ।

समाजमा ‘माल किसका कमाल किसका’ भन्ने उखान चरितार्थ हुँदै आएको छ । किसानको मालमा विचौलियाले कमाल गर्दै लुट मच्चाइरहेको छ । यसकारण काम गरी खाने किसानहरूको मन पोलेको छ, जलेको छ । बदलामा तिनीहरू आफ्नो उत्पादनलाई बजारमा सडकमा फालेर सरकारलाई घुर्क्याइहेका छन् । तर यसले सरकारको ध्यानकर्षण हुन्छ वा हुदैन, त्यो भने हेर्ने बाँकी छ । यथार्थ के हो भने विचौलिया साम्राज्यले जकडिएको नेपाली समाजमा लामो समयदेखि विचौलिया मानसिकता, चिन्तन, प्रवृत्तिले राज गर्दै आएको हुँदा सरकारले कडा कदम नचालेसम्म यो प्रवृत्ति हल्लिनेवाला छैन ।

त्यसो त सरकार गठन र विघटनसम्ममा विचौलिया सक्रिय हुने गरेको समाचारहरू बाहिर आइरहेको छन । विचौलियाहरूले मोटो रकम लिएर चुनावमा उम्मेदवारको टिकट लिने दिने र सरकारमा मन्त्री खान समेत विचौलियाकै हालीमुहाली हुने गरेको तथ्य बाहिर आएको छ । तसर्थ विचौलिया नयाँ अभ्यास नभई यो एउटा पुरानै साम्राज्य हो । विचौलिया साम्राज्य स्थापित भइसकेकाले सबै होसियार हुन जरुरी भइसकेको छ । दलाल समानित वर्ग प्रभाव हुने समाजमा विचौलिया साम्राज्य समाजका प्रत्येक तह तप्कामा जमाइरहेको हुन्छ । यसको अन्त आवश्यक छ ।

Skip This
Logo