रुपन्देही
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको पाँच वर्ष वामपन्थीका लागि अवसर र चुनौति दुवै भएको बताएका छन् । रुपन्देहीको देवदहमा आयोजित चौंथो राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, जनताले वामपन्थीलाई विश्वास गरेका छन् । कम्युनिष्टहरुको बहुमत आएको छ । यो हाम्रा लागि राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासनको पक्षमा दिएको अवसर हो । जनताले निकै ठूलठूला अपेक्षा गरेका छन् । राम्रो काम गर्न सक्यौं भने हामीलाई फेरी पनि अवसर आउने छ । सक्छौ कि सक्दैनौं । यो हाम्रा लागि अवसर र चुनौति दुवै हो ।’
महोत्सव उद्घाटनका क्रममा प्रचण्डले देशमा आर्थिक समृद्धि, रोजगारी सर्जना र राजनीतिक अस्थीरता अन्त्य भएमा मात्रै गठवन्धनको औचित्य हुने बताए । ‘झण्डै दुई तिहाई बहुमत जनताले गठवन्धनको पक्षमा दिएका छन्, हामी जनमतलाई कदर गर्नेछौं’ उनले भने, ‘कुर्सीको लडाई अन्त्य, स्थानीय स्तरमै रोजगारी, देशमा आर्थिक विकास र सबैको भावनाको सम्मान भएको महसुश भए मात्रै गठबन्धन सफल भएको मानिनेछ । हामी जनताको भावना अनुसार देशलाई विकास गर्ने कुरामा कुनै कसुर बाँकी राख्ने छैनौं ।’ त्यस्तै उनले नीजि क्षेत्रसँगको सहकार्य विना कुनैपनि देशमा विकास सम्भव नदेखिएकाले नेपालको आर्थिक विकासमा पनि नीजि क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए ।
अन्नपूर्णबाट
प्रकाशित: १२ माघ २०७४ ०६:०० शुक्रबार