सङ्घीयता मानसिकतामा आउन जरुरी छ : मुख्यमन्त्री शाही

सङ्घीयता मानसिकतामा आउन जरुरी छ : मुख्यमन्त्री शाही


सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयता व्यवस्थामा मात्र नभइ मानसिकतामा आउन जरुरी रहेको बताएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा आइतबार आयोजित अन्तरक्रियामा मुख्यमन्त्री शाहीले एकात्मक व्यवस्थाबाट मुलुक सङ्घीयतामा जाँदा पनि प्रदेश र स्थानीय सरकार छन् भन्ने कुरा सङ्घीय सरकारलाई थाहा नभएको भन्दैव्यङ्ग्य गरेका थिए ।

“आफूले गरे मात्रै विकास हुन्छ भन्ने मानसिकता सङ्घीय एवं प्रदेश सरकारको छ,” उनले भने, “व्यवस्थामा आएको सङ्घीयता मानसिकतामा पनि आउन जरुरी छ ।” संविधानको मर्म बमोजिम तीनवटै सरकारले अधिकारको प्रयोग एवं राज्य सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहीले तीनवटै सरकारको कार्यक्षेत्र र अधिकारको प्रष्ट व्यवस्था भएको अवस्थामा माग्ने र दिने जस्तो अवस्था आउन नहुने टिप्पणी गरे । उनले भने, “एकात्मक व्यवस्थाबाट जनताको भावना सम्बोधन मुलुक सङ्घीयतामा गयो । दूरदराजका नागरिकको शासन सत्तामा प्रतिनिधित्व गर्न सङ्घीय व्यवस्था स्थापना गरिए पनि केन्द्रीकृत सोचले त्यसो हुन सकेको छैन ।”

सरकारमा बस्नेको पुरातनवादी मानसिकतामा परिवर्तन आउन जरुरी भएको भन्दै मुख्यमन्त्री शाहीले आफू बाहेक अरु केही होइन भन्ने भ्रमले न्यायोचित विकासको जनअपेक्षा पूरा नहुने जिकिर गरे । “संविधानमा भएको व्यवस्था बमोजिम तीनवटै तहका सरकारको अधिकार तथा कार्यक्षेत्र कानूनीरुपमा छिटो परिभाषित हुनुपर्छ,” उनले भने, “कानून निर्माणमा भएको ढिलाइले राज्यशक्तिको प्रयोगमा व्यवधान आएको छ ।”

अन्तक्रियामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले वित्त हस्तान्तरणको आधार अवैज्ञानिक रहेको टिप्पणी गरे । खर्चको आवश्यकता र राजश्व सङ्कलनलाई प्रमुख आधार बनाइएको भन्दै मन्त्री ज्वालाले भूगोललाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

Logo