संसदको हिउँदे अधिवेशन भोलिदेखि

संसदको हिउँदे अधिवेशन भोलिदेखि


संघीय संसदको दुबै सदनको हिउँदे अधिवेशन भोलिदेखि शुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा गत मंसिर २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको अधिवेशन पुष ४ गतेका लागि आह्वान गरेकी थिईन् । राष्ट्रपतिको आह्वान बमोजिम भोलि अपरान्ह ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन शुरु हुनेछ । हिउँदे अधिबेशनको तयारीका लागि प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज छलफल भएको छ ।

अधिवेशनकै तयारीस्वरूप कांग्रेस संसदीय दलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । संसदीय दलको कार्यालयमा जारी बैठकमा भोलिदेखि शुरु हुने संसदमा प्रतिपक्षी दलको रुपमा कसरी प्रस्तुत हुने रणनिति निर्धारणका लागि छलफल भईरहेको सचेतक पुष्पा भूषालले जानकारी दिइन् ।

हिउँदे अधिवेशनकै तयारीका लागि राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्यो भने प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि दिउसो बस्ने कार्यक्रम छ ।

राष्ट्रिय सभाको भोलिको बैठकमा राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएपछि संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले आफ्ना भनाई राख्ने कार्यक्रम रहेको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिए । केन्द्रविन्दु अनलाईनसँग कुरा गर्दै अध्यक्ष तिमिल्सिनाले अन्य एजेण्डाहरुमा भने भोलिको बैठक प्रवेश नगर्ने बताए । प्रतिनिधि सभाको बैठकका एजेण्डाहरु भने भोलि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्नेछ ।

बलात्कार प्रयासको अभियोग लागेका प्रतिनिधि सभाका तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि साढे २ महिनादेखि सभामुख पद रिक्त छ । सभामुख कसलाई बनाउने भन्नेबारे सत्तारुढ नेकपाभित्र सहमति जुट्न नसक्दा प्रतिनिधि सभाको भोलिको बैठकको अध्यक्षता उपसभामुख डा.शिबमाया तुम्बाहाङफेले गर्दै छिन्  ।

Logo