सीमा अतिक्रमणविरूद्ध कविता आन्दोलन सुरू

सीमा अतिक्रमणविरूद्ध कविता आन्दोलन सुरू


भक्तपुर । नेपाली भूमि कालापानी, सुस्ता, लिम्पियाधुरा र लिपुलेकसमेत राखेर छिमेकी भारतले हालै आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि नेपली सार्वभौमिकतामाथि हस्तक्षेप भएको विरोधमा भक्तपुरमा साहित्यिक अभियान सुरू भएको छ ।

भारतको हेपाहा प्रवृत्ति र सीमा अतिक्रमणविरूद्ध विभिन्न जिल्लाका स्रष्टाहरूले ऐक्यवद्धता समेत जनाएका छन् । उनीहरूले आफ्नो रचनामार्फत् नेपाली राष्ट्रियता र अखण्डतामाथि भएको प्रहार कुनै पनि अवस्थामा सह्य नुहने बताउँदै सीमा अतिक्रमणविरूद्ध सरकारलाई समेत ठोस कदम चाल्न अनुरोध गरेका छन् । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान भक्तपुरले सुरू गरेको अभियानको क्रममा स्रष्टाहरूले रचनामार्फत् भारतीय विस्तारवादी नितिको विरोध गरे । कार्यक्रममा काभ्रेको नालाका स्रष्टा नवराज दाहाल ‘उत्साही’ले आफ्नो गजलमार्फत् भारतीय विस्तारवादलार्ई चेतावनी दिए । उनले गजलमार्फत् भने, ‘सिमानामा गिद्दे आँखा हेरिस् भने पख्लास्, विगतका सिमारेखा फेरिस भने पख्लास् ।’ उनीमात्र नभएर कार्यक्रममा सहभागी अन्य स्रष्टाहरूले पनि भारतले गरेको सीमा अक्रिमणविरूद्ध जुरूक्क उठ्नुपर्ने भावका गीत, गजल, कविता, मुक्तक वाचन गरेका थिए । कार्यक्रममा भक्तपुर झौखेलका बिके माकजू, हरिसुन्दर छुकां श्याम माकजू, लालबहादुर भुजेल, विवि दुवाल, काशिराम विरस, विकल प्रजापति, सूर्यप्रसाद तिमल्सिनालगायतले जोशिला रचनाहरू वाचन गरेका थिए ।

कार्यक्रम आयोजक प्रतिष्ठानका अध्यक्ष एवं रोम्बस सेकेण्डरी स्कुल÷कलेजका प्राचार्य डा. राजेन्द्र कोजूले देशको सार्वभौमिकता रक्षाको लागि सबैको भूमिका जरूरी रहेको उल्लेख गर्दै उक्त अभियान सुरू गरिएको बताए । उनले नेपाली भूमिमाथि निरन्तर हस्तक्षेप हुनुमा भारतमात्र दोषी नभई नेपालका विभिन्न राजनीतिक दलका नेताहरू पनि दोषी रहेको बताए । उनले सार्वभौमिकता खतरामा पर्दै गएकाले त्यसको रक्षाको लागि नयाँ पुस्तामा पनि जागरण जरूरी रहेकोमा जोड दिए । कार्यक्रममा ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले साहित्यिक अभियानले सीमा अतिक्रमण गर्न भारतीय विस्तारवादलाई पाठ सिकाउन सहयोग मिल्ने बताउँदै सीमा अतिक्रमणविरूद्ध सबै एकजुट भई लाग्नुपर्ने आवश्यकता औंल्याएका थिए । सोही अवसरमा अभियन्ता नेपालले कवि विकल प्रजापतिले लेखेको ब्याक अफ इण्डिया बोलको गीतको विमोचन पनि गरेका थिए । अभियान अन्तर्गत भक्तपुरका विभिन्न स्थानमा साहित्य वाचनको कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

Logo