सर्वाधिक बिक्री हुनु नै पुस्तकको स्तरीयता मापन गर्ने आधार होइन

सर्वाधिक बिक्री हुनु नै पुस्तकको स्तरीयता मापन गर्ने आधार होइन


भारती न्यौपाने झापा जिल्लाको शान्तिनगरमा जन्मिएकी हुन् । हाल ललितपुर हात्तीवनमा बसोबास गर्ने उनले नेपाली विषयमा स्नातकोत्तर पूरा गरी दर्शनाचार्य (एम फिल) अध्ययनको शोध गर्दै छिन् । राजधानीका केही निजी कलेजमा प्राध्यापन गर्ने उनी नेपाली साहित्यमा कविता क्षेत्रबाट प्रवेश गरेकी हुन् । उनका कविता, कथा र समालोचना लेखहरू फुटकर रूपमा प्रकाशित छन् । उनले नाटक तथा उपन्यास विधाका कृतिसमेत लेखेकी छन् ।

भारतीसँग यसपटक केन्द्रबिन्दु डटकमको नियमित साहित्यिक स्तम्भ केवल सात सवालमा हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ केन्द्रबिन्दु मिडियाका वरिष्ठ उपसम्पादक ज्ञानमणि नेपाल कालोटोपीले उनीसँग गरेको कुराकानीको सम्पादित अंशः

१.तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

उपन्यास पढ्ने क्रममा मैले भर्खरै नीलम कार्की निहारिकाको ‘योगमाया’ उपन्यास पढिसकेँ।

२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

यो पुस्तक निकै पहिले पढ्न चाहेकी थिएँ तर पूरा गर्न सकेकी थिइन। यस पटकको उपन्यास रोजाइमा इतिहासबाट ओझेल पारिएकी योगमायाको बारेमा जान्ने उत्सुकताले यो पुस्तक मेरो छनोटमा परेको हो ।

३. उक्त पुस्तकको सार के पाउनुभयो ?

यस पुस्तकमा सामाजिक, राजनैतिक, लैङ्गिक र जातीय विभेदका विरुद्ध आवाज उठाउँदै सहर्ष बलिदान दिने कैयौँ साहसी योगमायाहरूका इतिहास कसरी सीमान्तीकृत पारिएका छन् भन्ने कुरा देखाउन खोजिएको छ।

४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

आज भन्दा करिब ८ दशक अगाडि जुनबेला विधवाले बोल्ने त के बाँच्नै नपाउने जमानामा पनि योगमायाले गरेको यथार्थ साहसले मेरो मष्तिष्क खल्बलायो।

५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो ? वा पुस्तकको कमजोरी के पाउनुभयो ?

योगमायाको विषयवस्तु अनुसार त आयाम ठिकै हो तर यही विषयलाई केही कम आयाममा प्रस्तुत गर्न सकेको भए अझ बढी पाठकको प्रिय हुन सक्थ्यो भन्ने मलाई लागेको छ।

६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

यस पुस्तकलाई रेटिङ गर्ने भन्दा पनि यसले जुन सिर्जनात्मक उचाइ पाएको छ त्यो नै महत्त्वपूर्ण छ।

७. हाम्रा पाठकलाई पुस्तक छनोट गर्न के कस्तो तरिका सुझाउनुहुन्छ ?

पाठकवर्गलाई बजारमा सर्वाधिक बिक्री भएका पुस्तक रोज्ने बानी हटाएर स्तरीय पुस्तकलाई महत्त्व दिई पढ्न सुझाउँछु । आफ्नो रुचि अनुसारको यस्तो पुस्तक रोज्नुहोस् जसले समाजमा सकारात्मक सन्देश र ऊर्जा प्रदान गर्न सकोस्।

Logo