भोजपुरमा दुई वटा स्काभेटरमा आगजनी

भोजपुरमा दुई वटा स्काभेटरमा आगजनी


भोजपुर,

अज्ञात समूहले दुई एक्जाभेटरमा आगजनी गरेको छ । गएराति भोजपुर नगरपालिका १२ स्थित प्रतिमा प्रेशा कन्ट्रसन प्रालिको वाा २ क ७६९२ नंको स्काभेटरमा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै टेम्केमैयुङ गाउँपालिका दुई छिनामखुको नौले गाउँमा मध्यपहाडी लोक मार्गमा सडक निर्माणका क्रममा राखिएको गोल्डेन ग्रुप शेर्पा कन्ट्रक्सन प्रालिको वा २ क ६६१९ नं.को स्काभेटरमा पनि आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताउनुभयो । आगजनी कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सल्यानमा जलेर दुई वटा घर नष्ट

सल्यानमा दुई घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । दार्मा गाउँपालिका–१ सिमलपुरमा आइतबार भएको आगलागीबाट ७५ हजार नगदसहित पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट तसे कामी, कमल विक, अनिल विक र लक्ष्मण विकको घरमा रहेका लत्ता कपडा, भाँडाकुडा अन्नपात तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको पीडित कमल विकले जानकारी दिनुभयो । घरमा कोही नभएको बेला एक्कासी आगलागी भएर घरमा रहेको नगद, आठ आना सुनसमेत नष्ट भएको पीडित अनिल विकले जानकारी दिनुभयो । “घरमा रहेको अन्नपात लत्ता कपडा सबै सकियो अब कसरी परिवारको गर्जो टार्ने, सबैले सहयोग गरेर परिवार बचाइदिनुस्”, पीडित अनिल विकले भन्नुभयो ।

दुईवटा घरमा चार जना परिवार बस्दै आएकोमा आगलागी भएपछि विचल्लीमा परेको र पीडित परिवार आफन्तको घरमा बसेको इलाका प्रहरी कार्यालय फारुलाले जनाएको छ ।

Logo