चेकबुक तथा हस्ताक्षर किर्ते गरी बैंकबाट करिब २० लाख चोरी

चेकबुक तथा हस्ताक्षर किर्ते गरी बैंकबाट करिब २० लाख चोरी


राजधानीको  बैंकबाट करिब २० लाख रुपैयाँबराबर चोरी भएको छ । चोरी गर्नका लागि नक्कली चेकसमेत बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जनता बैंकको बानेश्वर शाखामा खाता रहेका गोपालमान राजवाहकको खाताको पैसा नक्कली चेक बनाएर १९ लाख ९९ हजार रुपैयाँ निकालिएको प्रहरीले जनाएको छ।

केहीदिनअघि नै घटेको यस घटना प्रहरीले अभियुक्तहरूलाई समातेपछि सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको छ । प्रहरीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले १८ लाख ५० हजार नगदसहित ६ जना व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–३ घर भई काठमाडौंको कालिमाटी बस्दै आएका १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षकै कुमार तामाङ, १८ वर्षको मनिष घिमिरे, २१ वर्षको अन्जन बराल, बाग्लुङको गलकोट नगरपालिका–३ घर भई काठमाडौंको बुद्धनगर बस्दै आएका २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोकको ज्यामिरे घर भई काठमाडौंको सुविधानगर बस्ने ३० वर्षीय गोविन्द घिमिरे छन् ।

प्रहरीले उनीहरूको साथबाट नगदका अतिरिक्त विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २ सय ९० थान, विभिन्न व्यक्तिको नाम र ठेगाना उल्लेख गरिएको रजिष्टर २६ थान, विभिन्न व्यक्तिका हस्ताक्षरको नमुना र नाम उल्लेखित डायरी २ थानसमेत बरामद गरेको छ ।
यस्तै, विभिन्न व्यक्तिको नाम उल्लेख गरी फोटो टाँस गरिएको सेञ्चुरी बैंकको खाता खोल्ने फर्म ३८ वटा, आईसीएफसी फाइनान्समा खाता खोल्न प्रयोग हुने फारम १८ थान, लक्ष्मी बैंकको खाता खोल्न प्रयोग हुने फारम १७ थान, मञ्जुश्री फाइनान्सको फारम ७ थान, ज्योति विकास बैंकमा खाता खोल्न प्रयोग हुने फारम ३७ थान, विभिन्न व्यक्तिको बैंक स्टेटमेन्ट ९८ थान, जी एन्ड जी कम्पनीको लेटरप्याड ८६ थान, एनआईसी एसिया बैंकमा विभिन्न व्यक्तिका खाताको स्टेटमेन्ट ९७ थान, सिद्धार्थ बैंकको खाता खोल्न प्रयोग हुने फर्म १० थान, सानिमा विकास बैंकमा खाता खोल्न प्रयोग हुने फारम २५ थान र जनता बैंकमा खाता खोल्न प्रयोग हुने फारम ५७ थान बरामद गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये केहीले आफूहरु कलेज पढ्ने विद्यार्थी भएको बताएका छन् । उनीहरूमध्ये गोविन्द र अन्जन प्रमुख योजनाकार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चोरी गर्न प्रयोग भएको शैली हेर्दा बैंकका कर्मचारीको सहयोगविना सम्भव नदेखिने अनुसन्धानमा संलग्न अधिकृतहरूको भनाइ छ । त्यही आधारमा अनुसन्धानको दायरालाई साँघुरो बनाउँदै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनीहरूले खातावालाको चेकमा रहेको हस्ताक्षर चोरी गरी सोही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ सक्कली चेक नै लिएर रकम निकालेको प्रहरीको भनाइ छ ।

खातावालाको सक्कली भिसा कार्डसमेत लिएको पाइएकाले बैंक कर्मचारीको मिलेमतो र लापरबाही भएको हुनसक्ने सम्भावना देखिएको प्रहरी स्रोत बताउँछ ।

पक्राउ परेका सबैलाई पाटन उच्च अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

यसअघि बैंकिङ प्रणाली नै ह्याक गरेर करिब डेढ करोड रुपैयाँ चोरी गरेको आरोपमा भदौ दोस्रो साता ६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । घटनाको चर्चा सेलाउन नपाउँदै ७ असोजमा लहानमा रहेको कृषि विकास बैंकको शाखाबाट दुई करोड रुपैयाँ चोरी भएको खुलेको थियो । यसबाट नेपाली बैंकिङ क्षेत्र पूर्ण सुरक्षित हुन नसकेको तथ्य बाहिरिएको छ ।

Logo