यस वर्ष धान उत्पादन घट्ने

यस वर्ष धान उत्पादन घट्ने


काठमाडौं,

चालु वर्ष धानको उत्पादनमा कमी आउने भएको छ। बेमौसमी पानी र नक्कली बीउका कारण यो वर्ष धान उत्पादनमा कमी आउने भएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष धानको उत्पादन करिब ५४ लाख टन हाराहारीमा सीमित हुने भएको छ।

चालु वर्षमा देशभर औसत रोपाइँ ९५ प्रतिशत थियो । अघिल्लो वर्ष देशभर ९५.३९ प्रतिशतका दरले १३ लाख आठ हजार पाँच सय हेक्टरमा रोपाइँ भएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार यो वर्ष उच्च पहाडमा ९७.९३, मध्यपहाडमा ९३ र तराईमा ९५.३३ प्रतिशतले रोपाइँ भएको थियो।

मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार बर्खे बालीका लागि निर्धारण भएको १३ लाख ७१ हजार सात सय ६ हेक्टरमध्ये १३ लाख एक हजार सात सय ६ हेक्टरमा मात्रै धान बाली लगाइएको थियो। यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ।

सरकारी तथ्यांक अनुसार समयमा पानी नपर्दा ७० हजार हेक्टरमा भने बर्खे धान लगाइएको थिएन। देशभर धानबालीका लागि १५ लाख ५२ हजार हेक्टर क्षेत्रफल छ। यसमध्ये १३ लाख ७१ हजार सात सय ६ हेक्टरमा बर्खे धानबाली तथा बाँकीमा चैतेधान लगाइन्छ।
अन्नपूर्णबाट

Logo