ट्राफिक स्वयंसेवकका लागि कानुन संकायका विद्यार्थी परिचालन

ट्राफिक स्वयंसेवकका लागि कानुन संकायका विद्यार्थी परिचालन


काठमाडौँ । शुक्रबार महानगरीय प्रहरीले महाशाखाले काठमाडौं स्कुल अफ ल, चक्रवती हवि एजुकेशन एकेडेमी र नेशनल कलेजको सहकार्यमा ‘काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक स्वयंसेवक परिचालन’ दोस्रो चरणको शुभारम्भ कार्यक्रम आयोजना गरेको छ । यसका लागि कानुन संकायका विद्यार्थीलाई परिचालन गरिने योजना छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थिति थियो ।

मंसिर ७ बाट सुरु हुने परिचालानमा ‘चक्रवति हवि एजुकेशन एकेडेमी’बाट ४० जना, ‘काठमाडौं स्कुल अफ ल’बाट २५५ जना ‘नेशनल ल कलेज’बाट ४० जना गरी जम्मा ३ सय ५५ जना युवा ट्राफिक स्वयंसेवकहरू परिचालन हुनेछन् । सबै स्वयंसेवक विद्यार्थीहरूलाई १ दिने प्रशिक्षण प्रदान गर्नुका साथै उनीहरूको कार्यक्षमता मूल्याङ्कन गरी प्रमाण पत्र समेत वितरण गरिनेछ ।

कार्यक्रमको मूल उद्देश्य यृवा र विद्याथीहरुसँगको सम्बन्ध, सहयोग र सहकार्य अझै बढाउने, यवाहरूमार्फत ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुर्‍याएर ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने भावना अभिवृद्धि गर्ने, ट्राफिक नियम पालना तथा सडक अनुशासन विषयलाई स्वतःआम प्रवृत्तिको रूपमा विकास गर्ने, युवाहरूमा ‘हामीबिना बर्दीको ट्राफिक प्रहरी हौँ’ भन्ने भावना जागृत गर्ने, युवा स्वयंसेवक परिचालन गरेर वर्तमान अवस्थामा काठमाडौंका मुख्य चोक तथा क्षेत्रको ट्राफिक व्यवस्थापन सुधार गरी आम नागरिकमा ट्राफिक सहजता महसुस गराउने हो भनेर महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि शैलेश थापा क्षेत्रीले कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई अलि फरक विषयको जानकारी दिए । उनले अपराधसँग सम्बन्धित विभिन्न कुरा बताए । विशेष गरी महिला विद्यार्थीहरूलाई आफू कसरी सुरक्षित रहने भन्नेबारे उनले विविध उपाय सिकाए ।

Logo