सागमा हुने एक्काइस खेलको वैदेशिक प्रशिक्षण

सागमा हुने एक्काइस खेलको वैदेशिक प्रशिक्षण


काठमाडौं,

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट ५९९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष तयारी गरिएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ ।

समितिले २१ खेलले वैदेशिक प्रशिक्षण प्राप्त गरेको जनाएको छ । मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै समितिले सबै खेलमा नेपालले सहभागिता जनाउने गरी विशेष तयारी गरिरहेको समितिका संयोजक रिमबहादुर रानाभाटले बताए । नेपालबाट ३१२ पुरुष र २८७ महिला खेलाडीले सागमा सहभागिता जनाउन लागेको रानाभाटले बताए ।

‘प्रशिक्षण योजनाबद्ध रुपमा संचालन गरिएको छ । त्यसैले यस पटक हामीले अहिलेसम्मकै बढि पदक जित्ने आशा लिएका छौं,’ उनले भने । नेपालले ०७६ जेठ १५ देखि असारसम्म विशेष प्रशिक्षण गरेको, साउन १ देखि १५ भदौसम्म प्रथम चरणको प्रशिक्षण, १६ भदौदेखि ३० असोजसम्म दोस्रो चरण र १ कात्तिकदेखि तेस्रो चरणको प्रशिक्षण सञ्चालन गरेको छ ।

समितिले फेन्सिङ्ग, जुडो, स्क्वास, टेबलटेनिस, पौडी, तेक्वान्दो, टेनिस, भारोत्तोलन, भलिबल, कवड्डी, ह्यान्डबल लगायतका खेलहरु गरी २१ खेलका खेलाडी बैदेशिक प्रशिक्षणमा सहभागी भएको र केहि वैदेशिक प्रशिक्षणमै रहेको जनाएको छ । बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई दुर्घटना न्यूनीकरण अभिमुखी तालिम, मनोवैज्ञानिक अभिप्रेरित, डोपिङ्ग, पुनर्ताजगी, पोषण तथा खुराक, प्रशिक्षण विधि विज्ञान लगायतका विशेष प्रशिक्षण समेत दिइएको थियो ।

साग बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले वैदेशिक प्रतियोगितामा सहभागी हुँदा विभिन्न उपलब्धी समेत हासिल गरेको समितिले जनाएको छ । संयोजक रानाभाटले नेपालले तयारीका लागि कुनै कसर बाँकी नराखेको बताउँदै राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।

Logo