प्रदेश नं ५ का सहकारीले कृषि क्षेत्रमा ३० प्रतिशत लगानी गर्नुपर्ने

प्रदेश नं ५ का सहकारीले कृषि क्षेत्रमा ३० प्रतिशत लगानी गर्नुपर्ने


सुनवल,

प्रदेश नं ५ का सहकारीहरुले कम्तीमा ३० प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नुपर्ने भएको छ । कृषिमा युवाको आकर्षण बढाउन र कृषि उत्पादन वृद्धि गर्न प्रदेशले बनाएको सहकारी ऐनमा उक्त व्यवस्था गरिएको प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिनुभयो ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ र १२ मा स्थापना गरिएको सहकारी कृषि बजारको बिहीबार उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले सहकारीले बचत मात्र नगरी कम्तीमा ३० प्रतिशत लगानी कृषि उद्योगमा गर्नुपर्ने प्रावधान ऐनमै व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “सहकारीको नाम कृषि राख्ने तर बचतमा सीमित भएर अब समृद्धि प्राप्त हुँदैन, कृषि सहकारीहरुले गाउँगाउँमा उत्पादन भएका कृषि उपजको बजारीकरण गरेमात्र नामअनुसारको काम गरेको ठहर्छ, तसर्थ कृषि, बचत तथा ऋण लगायत जुनसुकै सहकारीले पनि कम्तीमा ३० प्रतिशत लगानी कृषि उद्यममा गर्नुपर्ने प्रावधान हामीले ऐनमा व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “बचत सहकारीहरुले विभिन्न कोषको नाममा करोडौँ रकम लगानी नगरी बचत गरेर राखेका छन्, यता कृषकले मल बीउ किन्न सकिरहेका छैनन्, अब यस्तो परिस्थितिको अन्त्य हुनुपर्छ ।”

कृषि व्यवसाय गर्ने सहकारीलाई यान्त्रिकीकरण, प्रशोधन, बिक्री वितरण बजारीकरण लगायतमा प्रदेश सरकारले यथेष्ठ सहयोग गर्ने उहाँले बताउनुभयो । प्रदेश सरकारले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन विशेष योजना सञ्चालन गर्न लागेको बताउँदै मन्त्री पौडेलले भन्नुभयो, “स्वदेशमा बस्ने युवामा कृषिप्रति रुचि छैन तर विदेशबाट फर्केका युवाहरु उत्साहित भएर कृषि गरिरहेका छन्, हामी युवालाई आफ्नै ठाउँमा बसेर, परिवारसँगै रमाएर उद्यम गर्ने वातावरण बनाउँदै छौँ, कृषि पढ्ने विद्यार्थीहरुलाई लक्षित गरी किसानसँग विद्यार्थी कार्यक्रम पनि सञ्चालन गर्न लागेका छौँ, विद्यार्थीले पढ्दै कमाउँदै गर्न सक्नेछन् ।”

गाउँगाउँमा सहकारीमार्फत व्यवसाय गर्नका लागि ५० प्रतिशत सहकारीले लगानी गरे प्रदेश सरकारले ५० प्रतिशत लगानी गरेर सहयोग गर्ने मन्त्री पौडेलले बताउनुभयो । महिला सहकारीलाई भने सकारात्मक विभेदको नीति अवलम्बन गर्दै ७५ प्रतिशत प्रदेश सरकारले लगानी गरेर व्यवसाय प्रवद्र्धन गर्न सहयोग गर्ने उल्लेख गर्नुभयो ।

सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले कृषि बजारलाई प्रवद्र्धन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले सहकारीका सबै सदस्यलाई कृषि उद्यम गर्न सहकारीले जोड दिनुपर्ने बताउनुभयो । कृषिमा पहिलो प्राथमिकता दिइएको बताउँदै उहाँले कृषि पेशा गर्न आवश्यक सीप प्रदान गर्न नगरपालिका तयार रहेको उल्लेख गर्नुभयो ।

सहकारी बजारका अध्यक्ष देवीलाल डुम्रेका अनुसार प्रदेश सरकारको ५० लाख र सहकारी संस्थाको ५० लाख गरी रु एक करोडको लागतमा कृषि सहकारी बजार सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । बजारमा स्थानीय कृषकले उत्पादन गरेका तरकारी, फलफूल, खाद्यान्न लगायत कृषि उपज पैँचो पसलको अवधारणामा सञ्चालन गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

कृषि बजारमा विषादीसहित प्राङ्गारिक उपज खरीद बिक्री भइरहेको कृषि बजार सञ्चालन समितिका अध्यक्ष उपेन्द्रमान प्रधानले जानकारी दिनुभयो । आगामी दिनमा विषादी परीक्षण प्रविधि राख्ने तयारी पनि गरिएको उहाँले बताउनुभयो । कृषि बजार स्थापना भएपछि स्थानीय कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाउनुका साथै उपभोक्ताले पनि ताजा र प्राङ्गारिक उपज सुपथ मूल्यमा प्राप्त गर्ने अध्यक्ष प्रधानले उल्लेख गर्नुभयो । कृषि बजार सञ्चालनमा आएपछि यस क्षेत्रका कृषक उत्साहित भएका छन् ।

Logo