डा. केसीको स्वास्थ्य कमजोर बन्दै

डा. केसीको स्वास्थ्य कमजोर बन्दै


डडेल्धुरा,

डडेल्धुरा सदरमुकाममा सोमबारदेखि १७ औं चरणको अनशन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ। डडेल्धुरा अस्पताल नजिकैको एउटा घरमा अनशन बसिरहेका उनको स्वास्थ्यस्थिति चिसोका कारण कमजोर बन्दै गएको हो।

चिसो मौसम र शारीरिक कमजोरीका कारण रिँगटा लाग्ने एवं टाउको दुख्न थालेको डा. केसीले बताएका छन् । डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले डा. केसीको रक्तचाप तलमाथि भइरहेको जानकारी दिए । उनका अनुसार बुधबार बिहान मात्रै दुईपटक उनको स्वास्थ्य जाँच गरिएको छ । मंगलबार र बुधबार उनको पिसाब र रगत जाँच गरिए पनि रिपोर्ट आउन भने बाँकी रहेको डा. कँडेलले बताए।

‘हिजोसम्म उहाँको रक्तचाप ठीकठीकै थियो । आज ९०/६० मा झरेको छ,’ उनले भने, ‘उहाँले आफू कमजोर भएको महसुस गर्नुभएको छ। उहाँमा हिजोको जस्तो जाँगर छैन।’ उनले चिसोका कारण डा. केसीको स्वास्थ्यमा झन प्रतिकूल हुँदै जान सक्ने प्रतिक्रिया दिए।

बुधबार दिउँसोसम्म डडेल्धुराको अधिकतम तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री सेल्सियस रहेको छ। उनका अनुसार डा. केसी अनशन बसिरहेको क्षेत्रमा घाम लाग्दैन। डडेल्धुरा अस्पतालमा चिकित्सक कम हुँदा उनको नियमित जाँचमा समेत समस्या भइरहेको छ। डा केसीको स्वास्थ्य कमजोर बन्दै गए डडेल्धुरा अस्पतालभित्र सार्नुपर्ने अवस्था आउने डा. कँडेलले बताए।
नागरिकबाट

Skip This
Logo