‘प्रतिनिधिसभा विघटनको घट्नामा सर्वोच्चको आदेश भर गर्ने ठाउँ छैन’ : डा. बाबुराम भट्टराई

‘प्रतिनिधिसभा विघटनको घट्नामा सर्वोच्चको आदेश भर गर्ने ठाउँ छैन’ : डा. बाबुराम भट्टराई


काठमाडौं ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनको घटनामा सर्वोच्च अदालतको आदेशको भर गर्ने ठाउँ नरहेको बताएका छन् ।

जसपाले आइतबार काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईले सरकारको असंवैधानिक कदम विरुद्ध सर्वोच्च अदालतको आदेश आउनेमा भर पर्न नहुने बताए। अदालत सारतत्वमा नजाने टिप्पणी गर्दै डा. भट्टराईले अदालतको ढाँचा परम्परावादी र प्रक्रियामुखि भएकाले अदालतसँग झिनो आशा भएपनि न्यायको पक्षमा फैसला हुनेमा ढुक्क हुने अवस्था नरहेको बताए ।

अध्यक्ष भट्टराईले असंवैधानिक कदमका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाईरहेको समेत बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन चाहेको उल्लेख गर्दै उनले संसदमाथिको प्रहारमा मात्रै प्रधानमन्त्रीको कदम नरोकिने बताए । डा. भट्टराईले देश अक्कडमा फसेको भन्दै सहज निकास गाह्रो भएको बताए । उनले जनताको निहित सार्वभौंम सत्ता प्रयोग गरेर सभामुखले संसद बोलाउनु पर्ने बताए ।

 

यस्तै जसपा नेता राजेन्द्र महतोले सरकारले पटक पटक प्रतिगमन गरेको टिप्पणी गरे । अहिलेको प्रतिगमन केवल कुर्चीको लागि भएको उनको भनाई छ । उनले प्रतिगमन नटिक्ने भन्दै जनताको अधिकार नमिच्न र संविधानमाथि आक्रमण नगर्न चेतावनी दिए ।

शान्तिबाटिकाबाट शुरू भएको र्यालीमा शीर्ष नेताहरु बाबुराम भट्टराई,उपेन्द्र यादव, राजेन्द्र महतो,राजेन्द्र श्रेष्ठ, हिसिला यमी, गंगा श्रेष्ठ, नवराज सुवेदी लगायतको सहभागिता थियो । जसपाले संसद विघटनको विरोधमा विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ ।

Logo