नगर सभापति शाहलाई फसाइएको तरुण दलको दाबी, पेस्तोलको फिंगर प्रिन्ट जाँच गर्न माग

नगर सभापति शाहलाई फसाइएको तरुण दलको दाबी, पेस्तोलको फिंगर प्रिन्ट जाँच गर्न माग


नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले बिहीबार राति नेपालगञ्जमा भएको घटनामा प्रहरीको षडयन्त्र लुकेको बताएको छ ।
तरूण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई प्रहरीले फसाउन खोजेको आरोप लगाएका छन् । उनले शाहीका साथ बरामद भएको भनिएको पेस्तोलको फिंगर प्रिन्ट जाँच गर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘प्रहरीद्वारा आफैंले लगेको हतियार तरुण दलका नेता सन्दीपजंग शाहको गाडीबाट बरामद भएको भनी झुटा बहाना बनाई फसाउने र सामाजिक आतंक सिर्जना गर्ने आरोपमा लोकतन्त्रवादी तरूणहरूलाई दुःख दिने कुत्सित मनसाय एवं दूरासययुक्त नियतले पक्राउ गरिएका शाहलगायतलाई तत्काल रिहा गर्न, घटनास्थलमा पुगी निर्दोष तरुण नेताहरूलाई पक्राउ गरी फसाउन झुटा प्रपञ्च रच्ने षडयन्त्रकारी प्रहरीलाई हदैसम्मको कारबाही गर्न र बरामद गरिएको भनिएको हतियारमा फिंगर प्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन तरुण दल माग गर्दछ ।’

बिहीबार राति प्रहरीले नेपालगञ्ज–२० स्थित नमस्ते भिलेज रिसोर्टबाट शाहसहित ६ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले शाहको गाडीबाट मेड इन युएसए लेखिएको पेस्तोल र दुई राउन्ड गोली बरामद भएको जनाएको छ ।

Logo