नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने जापानी प्रतिबद्धता

नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने जापानी प्रतिबद्धता


काठमाडौं,

नजिकिंदै गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न जापानले सहयोग गर्ने भएको छ । अबको दुई महीनापछि शुरु हुने भ्रमण वर्षका दौरानमा बढीभन्दा बढी जापानी नागरिकलाई नेपाल भ्रमणमा अभिप्रेरित गर्ने जापान सरकारको प्रतिबद्धता रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न भएको जापान भ्रमणका क्रममा जापान सरकारले नेपाल भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । भ्रमणका दौरानमा राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भएको भेटवार्तामा नेपालको आर्थिक विकासमा जापानी सहयोग अभिवृद्धिका साथै भ्रमण वर्षलाई सहयोग गर्ने त्यहाँका प्रधानमन्त्रीले बताउनुभएको थियो ।

राष्ट्रपति भण्डारी गत कात्तिक ३ गते जापानी सम्राट नारुहितोको शुभराज्याभिषेक समारोहमा सहभागी हुन म्यान्मार हुँदै जापान पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको पूर्वाधार विकासमा जापानी लगानी तथा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जापानी सहयोगका लागि आग्रह गर्नुभएको थियो । जापानी प्रधानमन्त्री आबेले नेपालको दिगो विकासमा जापानको सहयोग निरन्तर रहने आश्वासन दिँदै दुई मुलुकबीच व्यापार घाटा कम गर्ने विषयमा छलफल गरी अगाडि बढ्ने बताउनु भएको थियो । उहाँहरूबीच नेपाल तथा जापानबीच उच्चस्तरमा भ्रमण आदानप्रदानका साथै काठमाडौँ–ओशाकाबीच नेपाल वायुसेवा निगमको सिधा उडान भएझै जापानका अन्य नगरमा पनि यस्तै सेवा विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।

नेपाल र जापानबीच सिधा हवाई सम्पर्क विस्तार भएकाले पनि जापानबाट उल्लेख्य सङ्ख्यामा पर्यटन नेपाल आउने अपेक्षा गरिएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज ए–३३० ले गत भदौ १२ गतेदेखि जापानको ओशाकास्थित ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा व्यावसायिक उडान शुरु गरेको थियो । निगमले साताको दुई दिन मङ्गलबार र शनिबार नियमित उडान गर्दै आइरहेको छ । पछिल्लो समय ओसाका–काठमाडौँ उडानमा सन्तोषजनक व्यापार भइरहेको निगमले उल्लेख गरेको छ ।

जापानको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताउनु भएको थियो । राष्ट्रपतिको सम्मानमा जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालीलाई दुःख पर्दा असल र भरपर्दो मित्रका रुपमा जापानले सघाएको स्मरण गर्दै गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापनामा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

Logo