तीनकुने पार्कको दुबो चोरिएपछि सुरक्षार्थ खटाइयो सशस्त्र

तीनकुने पार्कको दुबो चोरिएपछि सुरक्षार्थ खटाइयो सशस्त्र


  • कृष्णसिंह धामी ।

काठमाडौं । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा क्रममा सजाइएको तीनकुने पार्कमा रोपिएको दुबो चोरि भएको छ । पार्कको केही ठाउँमा दुबोको चपरी चोरि भएपछि सुरक्षार्थ सशस्त्र प्रहरी बल खटाइएको छ ।

असोज २५ मा नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि काठमाडौं सिगारिएको थियो । त्यही क्रममा तीनकुने पार्कमा दुबो रोपिनुका साथै विरुवा रोपिएको थियो । सजाएर चिटिक्क बनाइएको पार्कको सुन्दरता जोगाउन काठमाडौं महानगरपालिकाले सुरक्षाको जिम्मा सशस्त्रलाई दिएको हो ।

पार्कमा रोपिएका केही विरुवा तथा दुबो गायब भएको थियो । सुरक्षाको अभावमा पार्कको सुन्दरता नै गायब हुने अवस्था आएपछि सिनामंगलस्थित सशस्त्र प्रहरीको विपद् उद्धार गणबाट खटिएको सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्दै आएको छ ।

काठमाडौं महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले दुबो र केही विरुवा गायब भएपछि नजिकै रहेको सशस्त्रलाई सुरक्षा गर्न अनुरोध गरिएको बताए । महानगरको अनुरोधमा सुरक्षाकर्मी खटिएको हो । अहिले पार्कको सुरक्षाको लागि एक दर्जन बढी सुरक्षाकर्मी खटिएका छन् ।

चिनियाँ गतिको कामलाई निरन्तरताः

तीनकुने पार्कको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल । तस्बिरः राजेश विक/केन्द्रबिन्दु ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा गरिएको काठमाडौं सजावटको कामलाई निरन्तरा दिइने भएको छ । काठमाडौं महानगरले त्यही गतिमा कामलाई अगाडि बढाएको हो ।

‘चिनियाँ राष्ट्रपति आउँदा जसरी काठमाडौं सिगारिएको थियो । अब पनि त्यही गतिलाई निरन्तरता दिइनेछ । पछि हट्ने त कुरै हुदैन् । त्यही गतिमा काम हुनेछ । त्यो कामपछि धेरैले चिनियाँ राष्ट्रपति स्वदेश फर्किएपछि पुरानै काठमाडौं हुनेत होला नि भन्दै आशंका व्यक्त गरिररहेका छन् । तर हामी त्यसो हुन दिदैनौं । कामलाई निरन्तरता दिन्छौं ।’ वातावरण विभाग प्रमुख श्रेष्ठले भने ।

काठमाडौंलाई कसरी सफा, हराभरा, व्यवस्थित पार्न सकिन्छ भन्ने कुरा चिनियाँ राष्ट्रपति आउँदा गरिएको तयारीबाट पाठ सिकिएको भन्दै श्रेष्ठले भने, ‘अब त्यही गतिलाई निरन्तरा दिन्छौं । र काठमाडौंको मुहार फेरेरै छाड्छौं ।’

फोहोर गर्नेप्रति अब कठोर बन्नेः

तीनकुने पार्कको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल । तस्बिरः राजेश विक/केन्द्रबिन्दु ।

अहिलेसम्म काठमाडौंमा जथाभावी फोहोर फाल्नेलाई कुनै कारवाही गरिदैन । विशेषगरी काठमाडौंका घरधनीबाट यस्तो समस्या बढी थियो । घरमा माथिल्लो तला बस्ने अनि माथिबाट सडकमा फोहोरका पोका फाल्ने प्रवृति छ । अब यसलाई निरुत्साहित गर्न काठमाडौं महानगर कठोर भएर अघि बढ्ने श्रेष्ठको भनाई छ ।

‘जथाभावी फोहोर फाल्ने र सार्वजनिक सम्पत्तिमा हानी पुर्‍याउने जो कोहीलाई जरिवाना मात्र नभएर जेल सम्म हाल्ने नीति महानगरले ल्याउँदैछ । नीतिगत व्यवस्था त फोहोर मैला व्यवस्थापन ऐन २०६८ ले गरिसकेको छ । तर अहिलेसम्म कार्यान्वयन गरेका थिएनौं । अब जथाभावी फोहोर फाल्नेलाई जरिवाना मात्र होइन थुनेर राख्छौं । महानगर कडा रुपमा प्रस्तुत नभएसम्म काठमाडौं सुर्धान सकिन्न ।’ वातावरण विभाग प्रमुख श्रेष्ठले भने ।

Logo