३ दिन प्रहरी हिरासत बसेका ठाकुरको प्रश्न, ‘विना कारण किन थुनामा राखियो ?’

३ दिन प्रहरी हिरासत बसेका ठाकुरको प्रश्न, ‘विना कारण किन थुनामा राखियो ?’


काठमाडौं । नेपाल फाउण्डेशनमा अध्यक्ष विकास कुमार ठाकुर दशैं मनाएर काठमाडौं फर्किदैं थिए । असोज १९ गते सर्लाही पुगेर २४ गते काठमाडौं फर्किदैं थिए । त्यही बेलुका काठमाडौं नजिक फर्पिङबाट उनी नेपाल प्रहरीको नियन्त्रणमा परे ।

दशैं मनाएर कर्मथलो काठमाडौं फर्किने क्रममा एकाएक विना कारण अपहरण शैलीमा प्रहरीले पक्राउ गरेर उनलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा राखियो । उनले आफु पक्राउ परेको बारे पटक–पटक जानकारी मागे । तर प्रहरी अधिकारीले ‘तपाईलाई सोधपुछका लागि हामीले गिरफ्तार गरेका छौं । फेसबुकमा किन नचाहिने कुरा लेख्नु हुन्छ ?’ भन्ने जवाफ दिइयो ।

प्रहरीको उक्त अभिव्यक्ति सुनेर उनी चकित परे । उनी भन्छन्, ‘आजसम्म मैले देश बिरुद्धमा कुनै अभिव्यक्ति दिएको छैन् । चाहे तो सामाजिक सञ्जाल होस वा कुनै सार्वजनिक मञ्च ।’ पक्राउ परेर भ्यानमा बसाउँदै गर्दा सोधपुछ गरेर राति नै रिहा गरिदिन्छौं भनिएको थियो । तर उनलाई तीन दिनसम्म मानसिक यातना दिएर हिरासतमा राखियो ।

असोज २४ मा पक्राउ परेका ठाकुरलाई प्रहरीले असोज २६ मा रिहा गरेको थियो । विना कारण आफु किन पक्राउ परियो भन्नेबारे ठाकुरले प्रहरीप्रशासनसँग प्रश्न गरेका छन् ।

उनले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘नेपालको संविधानको धारा २० (१) ले नागरिकलाई न्याय सम्बन्धी हक प्रदान गर्दै भनेको छ की कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारणसहितको सूचना नदिई थुनामा राखिने छैन् । त्यसैगरी नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको धारा ९ (१) अनुसार कुनै व्यक्तिलाई पक्राउ गर्दा त्यसको कारणबारे जानकारी दिनुपर्ने व्यवस्था छ । तर यो राज्यले केको आधारमा संविधानले मलाई प्रदान गरेको न्याय सम्बन्धी हक खोस्ने धृष्टता गर्यो ? संविधानको कुन धारालाई टेकेर तीन दिनसम्म मलाई स्वेच्छाचारी हिरासतमा राखियो ?’

Logo