एनआरएनएको नवौं महाधिवेशन आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने

एनआरएनएको नवौं महाधिवेशन आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । होटल ह्यातमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । ३० असोजसम्म सञ्चालन हुने महाधिवेशनबाट आगामी कार्याकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ ।

एनआरएनएमा अध्यक्षसहित कुल १२ पद छन् । यी पदहरूमा ४२ जना निर्वाचित गर्नुपर्ने व्यवस्था छ । तर, सीमित पदहरूमा धेरैले आकांक्षा देखाउने गरेपछि अघिल्ला महाधिवेशनदेखि नै एनआरएनए चुनावी प्रक्रियाबाटै नेतृतव चयन गर्दै आएको छ ।

अध्यक्षका लागि यसपटक हालका दुई उपाध्यक्ष कुमार पन्त र कुल आचार्य मैदानमा छन् । पन्त वाम र आचार्य प्रजातान्त्रिकनिकट मानिन्छन् ।

उपाध्यक्षमा एक महिलासहित ५ उम्मेदवार एनआरएनएले छनोट गर्नुपर्नेछ । यसअघि प्रायः सहमतिमा यी पद पूर्ति हुने गरे पनि यसपटक अध्यक्षको तुलनामा बढी आकांक्षी देखिएका छन् ।

उपाध्यक्षका लागि डा. बद्री केसी, सोनाम लामा, रवीना थापा, डा. केशव पौडेल, नरेन्द्र भाट, हिक्मत थापा, अर्जुनकुमार श्रेष्ठ लगायतको उम्मेदवारी परेको छ ।

महाधिवेशनले १ महासचिव, २ सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १/१ जना निर्वाचित गर्नेछ । यी पदहरूमा पनि उम्मेदवारी घोषणा हुने क्रम जारी छ ।

प्रत्येक क्षेत्रीय समितिबाट एकरएक गरी ६ जना क्षेत्रीय संयोजकहरु निर्वाचित हुनेछन् । त्यसैगरी, क्षेत्रीय उपसंयोजकअन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुनेछन् । त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २/२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १/१ जना क्षेत्रीय उपसंयोजक चयन हुनेछन् । प्रत्येक क्षेत्रबाट १/१ जनाका दरले ६/६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिनेछन् ।

Logo