सडक मर्मत नगरेको भन्दै मेयरलाई ट्रकमा बाँधेर घिसारियो

सडक मर्मत नगरेको भन्दै मेयरलाई ट्रकमा बाँधेर घिसारियो


एजेन्सी । सडक मर्मत नगरेको भन्दै मेक्सिकोमा एक मेयरलाई ट्रकमा बाँधेर सडकमा घिसारिएको छ । मेक्सिकोको दक्षिणी भाग चिएपास राज्यका मेयर जर्ज लुइस एस्कन्डोन हर्नाडेजलाई सडक मर्मत नगरेको भन्दै जबरजस्ती एक पिकअप ट्रकमा बाँधेर सडकमा घिसारिएको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

मेयर हर्नाडेजलाई केही परसम्म तानेपछि स्थानीय प्रहरीहरुले उद्दार गरेको थियो । जसका कारण मेयरलाई गम्भीर चोट लाग्न पाएन् । उक्त गाउँका किसानले मेयरमाथि आक्रमण गरेको बताइएको छ । यसअघि पनि उनीहरूले आक्रमण गरेका थिए ।

चुनावको समयमा मेयरले आफूहरुसँग गरेको वाचा अनुरुप स्थानीय सडक मर्मतको नगरेकोले यस्तो कदम चालिएको किसानहरुको भनाइ छ । एस्कन्डोनले पक्राउ परेकाहरुमाथि ज्यान मार्ने प्रयास वा अपहरण गर्ने प्रयासमा मुद्दा दायर गरेका छन् ।

मेयर कार्यालयबाहिर रहेका एक प्रत्यक्षदर्शीले खिचेको भिडियोमा पुरुषहरुको एक समूह मेयरलाई जबरजस्ती कार्यालयबाहिर निकालिरहेको र त्यसपछि बाहनमा बाँधेको देखिन्छ ।

एक सीसीटीभी फुटेजमा ट्रकको पछाडि हातमा डोरी बाँधेर उनलाई स्यान्टा रीटाको सडकमा तानिदैं गरेको देखिन्छ । दर्जनौं प्रहरीले केही समयको प्रयासपछि मेयरलाई घिसार्दै अघि बढेको वाहनलाई रोक्न सफल भएका थिए ।

Logo