‘जरुरी पक्राउ’ पुर्जी थमाएर महरालाई आजै पक्राउ गर्ने तयारी

‘जरुरी पक्राउ’ पुर्जी थमाएर महरालाई आजै पक्राउ गर्ने तयारी


काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ। पीडित महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरेको हो। ‘जरुरी पक्राउ’ पुर्जी थमाएर महरालाई पक्राउ गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

कुनै व्यक्तिलाई पक्राउ गर्नुपूर्व अदालतबाट पक्राउ पूर्जी लिनुपर्ने कानुनी व्यवस्था छ । तर कसैलाई तत्कालै पक्राउ गर्नुपरे प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर पछि अदालतबाट पक्राउ पुर्जी लिन पनि सक्छ । प्रहरीले अदालतलाई जानकारी नदिई पनि २४ घन्टासम्म हिरासतमा राख्न सक्छ। तर २४ घन्टाभन्दा बढी समयका लागि हिरासतमा राख्न अदालतको म्याद अनिवार्य हुन्छ।

संसद सचिवालयकै कर्मचारी रहेकी शाहीले असोज १२ गते राति कोठामै आएर महराले बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन । आरोप लगाएको पर्सीपल्ट महराले सभामुखबाट राजीनामा दिएका थिए।

आरोप लगाएको केही समयपछि रोशनीले बलात्कार नगरेको भन्दै बोली फेरेकी थिइन् । महरा आफ्नो बुबा समान भएको भन्दै उनले प्रहरीमा कुनै दुव्यर्वहार नभएको भन्दै निवेदन समेत दिएकी थिइन् । तर अन्तमा आएर शुक्रबार महानगरिय प्रहरी वृत्त नयाँबानेश्वरमा गएर महराविरुद्ध बलात्कारको प्रयास गरेको भन्दै जाहेरी दिएकी हुन् ।

प्रहरीले गरेको प्राविधिक अनुसन्धानबाट पनि महरा शाहीको कोठामा पुगेको देखिएको थियो । दबाबमा परेर बयान फेर्दै आएकी रोशनीले अन्ततः महराविरुद्ध बलात्कारको उजुरी दिएकी थिएन् ।

यसअघि रोशनी र उनका श्रीमानले अगल बस्ने भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरेका थिए । तर बलात्कारको उजुरी भने रोशनी र उनका श्रीमान दुवै जना आएर दिएका थिए । रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षण समेत गरिएको थियो ।

महराले सुरुमा रोशनीको कोठामा गएको स्वीकार गरेका थिए । तर महराको सचिवालयले जारी गरेको अर्को विज्ञप्तीमा आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन् ।

घटना भएको राति नै पीडित महिलाले प्रहरीमा खबर गरेकी थिइन् । खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा भने त्यहाँबाट गइसकेका थिए । प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्मा, जुत्ताको तलुवा बरामद गरेको थियो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले घटनाको सत्यतथ्य छानविन गर्न प्रहरीलाई निर्देशन दिएसँगै प्रहरी अनुसन्धानमा सक्रिय बनेको थियो । आईजीपी सर्वेन्द्र खनाल, काठमाडौं प्रहरी प्रमुखसहितको बैठक बोलाएर गृहमन्त्री महराले जस्तो सुकै अवस्थामा पनि अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन भनेका थिए । कसैसँग नडराइ निष्पक्ष अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन थियो ।

Skip This
Logo