आँधीका कारण दक्षिण कोरियामा ६ जनाको मृत्यु

आँधीका कारण दक्षिण कोरियामा ६ जनाको मृत्यु


दक्षिण कोरिया,

दक्षिण कोरियाको विभिन्न ठाउँमा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुले बिहिवार दिएको जानकारी अनुसार आँधीका कारण अरु केही हराइरहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।राति आएको आँधीसँगै देशका विभिन्न स्थानमा अत्यधिक बर्षा पनि भएको छ । देशको दक्षिणी क्षेत्रमा बुधबार राति आँधी आएको थियो भने बाढी, पहिरोको चेतावनी समेत दिइएको थियो ।

आँधीका कारण मृत्यु हुनेमा एक जना ७० बर्षिया महिला रहेको अधिकारीहरुले जनाएका छन् । देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने पोहाङमा उहाँलाई शक्तिशाली हावाले उडाएको थियो । अत्यधिक बर्षाका कारण भत्किएको घरले पुरिएर अर्की एक महिलाको मृत्यु भएको समाचारमा जनाइएको छ । उहाँको घरमै सुतिरहेका बेला मृत्यु भएको गृह तथा सुरक्षा मन्त्रालयले जनाएको छ ।

अरूको पनि देशका विभिन्न ठाउँमा मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने मन्त्रालयले अनुमान गरेको छ । प्रभावित क्षेत्रमा ६ सय भन्दा धेरै उद्धारकर्मीहरु खटिएका छन् । उनीहरुले विपदमा परेका नागरिकको खोजी तथा उद्धार गरिरहेका छन् । उनीहरुले कम्तीमा चार जना भग्नाबशेषमा पुरिएको अनुमान गरेका छन् ।
रासस/एएफपी

Logo