ठगीको अर्को तरिका ‘अफिसियल हुण्डी’

ठगीको अर्को तरिका ‘अफिसियल हुण्डी’


दुर्गा पंगेनी ।

विदेशमा नेपालीले नेपालीलाई ठग्नु सामान्य कुरा हो । टाठा बाठा नेपालीले सोझा साझा नेपालीलाई ठग्न गाह्रो छैन । तर अचेल पढेलेखेका र राम्रै ओहदामा भएका प्रवासीहरू पनि ठगिन थालेका छन् । सोझा साझा र बेरोजगार युवालाई आजाद भिसाको नाम लगायत अन्य धेरै तरिकाले ठगे जस्तै अचेल रेमिटेन्स पठाउने कम्पनीका स्टाफहरू परदेशमा पैसा कमाएर नेपाल पठाउने आम जनतालाई ठगिरहेको फेला परेको छ ।

एउटा रेमिट कम्पनीबाट पैसा पठाएको दुइ दिन सम्म आइपुगेको छैन भनेर इन्भेस्टमेन्ट बैंक पृथ्बीचोक पोखराबाट पैसा लिन गएका मान्छेलाई फर्काइयो । जबकी विदेशमा पैसा बुझाएको केही मिनेटभित्रै नेपालमा पेमेन्ट हुनुपर्छ । त्यो रेमिट कम्पनीहरूको दावा पनि हो । उनीहरू तुरुन्तै पेमेन्ट गर्छौँ भनेर विज्ञापन गरिरहेका हुन्छन् । तेस्रो दिन पैसा लिन जाँदा सिस्टम बिग्रिएको छ त्यसैले पेमेन्ट गर्न सकिँदैन भनेर फर्कायो ।

चौथो दिन पनि पेमेन्ट आएकै छैन भनेर फर्काएपछि पेमेन्ट पठाउने सम्बन्धित एजेन्ट कहाँ गएर त्यो रेमिट क्यान्सल गरेर आइएमई गर्दिनुस् भन्दा सिस्टम बिग्रेको कारणले ढिला भएको हो भोलि सम्ममा पैसा दिन्छौँ भन्ने जवाफ दिए । चार दिन सम्म त्यो पैसा कसले चलायो ? कसको खातामा बस्यो ? तुरुन्तै भुक्तानी दिने भनेर पैसा लिएर त्यसरी पेमेन्ट नै नगरी आफ्नो खातामा राखिरहन रेमिट कम्पनीहरूले पाउँछन् ?

त्यसपछि ग्राहकले विवाद नै गर्ने सुर कसेपछि भने उनले उता पैसा रिसिभ गर्न गएको मान्छेको नम्बर मागेर पोखरामा त्यो पैसा भुक्तानी दिने मान्छेलाई दिए ती एजेन्टले । भुक्तानी दिनेले तुरुन्तै फोन गरेर बोलाएर पैसा तिर्यो त्यति मात्र होइन ती एजेन्टले पैसा लिन गएको मान्छेलाई यहीबाट फोन गरेर एकै छिनमा पैसा पाउनुहुन्छ भनेर समेत आश्वासन दिए । विवाद गरेपछि या ‘म फलानो हुँ’ भनेर चिनिएपछि मात्र चल्ने त्यो रेमिट कम्पनीको सिस्टम कुन खालको हो ? यो त सरासर ठगी भएन र ?

त्यसबीचमा एजेन्ट र नेपालमा रहेका प्रतिनिधिबीचमा भएका कुराकानीहरू अचम्म लाग्दा सुनिए । उनीहरू आपसमा बोलिरहे, चार दिन अगाडिको मात्र पेमेन्ट रिलिज गर्ने तिन दिन अगाडिको पेमेन्टलाई भोलि रिलिज गर्ने इत्यादि कुराकानीहरू उनीहरूले फोनमा गरे । अलिअलि कुरा बुझ्ने मान्छेले सजिलै बुझ्न सकिने भाषा हो त्यो । उनीहरू नियतवस नै पैसा रिलिज गरिरहेका छैनन् र पैसा लिन लाइन बसेका सेवाग्राहीहरूलाई दुख दिइरहेका छन्, यो ठगी होइन र।

ग्राहकले नै आइएमई, प्रभु या हिमाल रेमिटबाट पठाइदिनु भन्दा समेत फलानो राम्रो छ भनेर नामै नसुनेका रेमिट कम्पनीहरू सिफारिस गर्छन् एजेन्टहरू । अझ अलिकति सोझो सेवाग्राही देखे भने सोध्ने कष्ट पनि गर्दैनन् कुन कम्पनीबाट पठाउने भनेर । सोझै आफूखुसी आफूलाई कुन कम्पनीबाट कमिसन बढी आउँछ त्यसैमा पठाईदिन्छन, त्यसो गर्दा उता पैसा पाउनेले समयमा पाउदैनन ।

त्यसरी रेमिटेन्स कम्पनीहरूले सेवाग्राहीको पैसा अनधिकृत रूपमा विभिन्न बहाना बनाएर होल्ड गरेर गरिएको ठगी बाहेक अर्को झन् डरलाग्दो तरिका प्रचलनमा रहेको पाइयो । हुन्डी जस्तै तरिका तर त्यसलाई यो हुन्डी नै हो भनेर दाबी गर्न नसकिने खालका तरिकाहरू प्रयोगमा आउन थालेको देखिन्छ । ‘अफिसियल हुण्डी ।’ विदेशबाट बैंक खातामा पैसा ट्रान्सफर गर्दा यो तरिका अपनाएको देखिन्छ ।

अहिले ‘मोबाइल मनि’ अन्तर्गत प्राय बैंकहरूले मोबाइलमा रहेको एपबाट पैसा ट्रान्सफर गर्ने सुविधा प्रदान गरेका छन् । जस अन्तर्गत विदेस बसेर नै आफ्नो खाताबाट रकम जोसुकैको खातामा ट्रान्सफर गर्न सकिन्छ । विजुली पानीको बिल, टेलिफोन, इन्टरनेट, रिचार्ज कार्ड सबै किसिमका बिलहरू भुक्तान गर्न सकिन्छ र एउटा खाताबाट अर्को खातामा ब्यालेन्स ट्रान्सफर समेत सजिलै गर्न सकिन्छ ।

विदेशमा रेमिटेन्स एजेन्टले पैसा बुझेपछि यदि त्यो पैसा खातामा ट्रान्सफर गर्ने हो भने सिस्टमलाई बाइपास गरेर एउटा प्रिन्ट दिन्छन् । त्यो रकम एक दुई दिनमा खातामा जम्मा पनि हुन्छ तर त्यो सोझै बैंकिङ प्रणालीबाट नगई हुन्डीको तरिकाले ट्रान्सफर गरिएको हुन्छ । नेपाल मै रहेको खाताबाट ट्रान्सफर गरि विदेशमा बुझाएको पैसा उतै राख्ने यो तरिकालाई ‘अफिसियल हुन्डी’ भन्दा फरक नपर्ला ।

सेवाग्राहीको विश्वास जित्न तत्कालै ट्रान्सफर पनि गरिदिन्छन तर त्यो पैसा सिस्टमबाट गएको हुँदैन । त्यो एक तरिकाको हुन्डी नै हो । सरकारको नियन्त्रण भित्रै रहेको बैंकिङ पद्दतिको दुरुपयोग गरेर पनि हुण्डिको कारोबार गर्न सक्ने रेमिट्यान्स एजेण्टहरु धेरै बाठा । त्यहाँ ठगि भएको या गैह्र कानुनी काम भइरहेको सजिलै कसैले पत्ता लगाउनै सक्दैन । सम्बन्धित निकायको ध्यान यस्ता विषयमा चाडै जानुपर्ने देखिन्छ ।

Logo