दशैँ खर्च जुटाउन त्रिशुलीमा वालुवा निकाल्दै मजदुर

दशैँ खर्च जुटाउन त्रिशुलीमा वालुवा निकाल्दै मजदुर


धादिङ,

दशैँपर्व नजिकिँदै गर्दा पर्व खर्च जुटाउन त्रिशूली नदीमा मजदुरी गर्न आउने मानिसको सङ्ख्या निकै बढेको छ । गएको सातादेखि त्रिशूली नदीमा वालुवा झिक्न आउने मजदुरको लर्को लाग्न थालेको छ ।

पर्व मनाउनका लागि नदीबाट वालुवा निकालेर बिक्री गर्ने काममा सयौँ मजदुर टाढाटाढादेखि धादिङको बैरेनी, आदमघाट, बेल्खु लगायतका स्थानमा आएका छन् । जोखिमयुक्त काम भए पनि छोटो समयमा नै मनग्य आम्दानी हुने हुँदा चाडबाड मनाउने सबैभन्दा उपयुक्त विकल्प ठानेर बालुवा झिक्न आएको मजदुरहरु बताउँछन् ।

बालुवा मजदुर रामकुमार राईका अनुसार दैनिक सामान्यतया २५ सयदेखि चार हजार रुपैयाँसम्म आम्दानी हुन्छ । जति पर्व नजिकिँदै जान्छ, त्रिशूली नदीको भेलबाट बालुवा झिकेर दैनिकी चलाउने मजदुरको खटन पनि बढ्दै जान्छ । पर्व खर्च जुटाउनका लागि त्रिशूली नदीको भेलबाट बालुवा निकाल्ने मजदुर नदी किनारमा जताततै भेटिने गरेका छन् । खाली खुट्टा त्रिशूली नदीको बीच भागसम्म पुगेर हातैले बालुवा निकाल्दैमा मजदुरको दिन बित्ने गरेको छ ।

नदी र खोलामा मेसिनको प्रयोग गर्न स्थानीय प्रशासनले कडाइ गरेपछि त्रिशूली नदीको भेलसँग पौँठेजोरी खेलेर बालुवा निकाल्ने मजदुरको सङ्ख्या ह्वात्तै बढेको छ । त्रिशूली नदीमा बालुवा निकाल्न स्थानीयभन्दा धेरै बाहिरी जिल्लाका मजदुर जम्मा भएका हुन्छन् ।

हरेक वर्ष वर्षात्को समयमा त्रिशूली नदीबाट बालुवा निकाल्नका लागि जाजरकोट, बर्दिया, खोटाङ, उदयपुर, रौतहट, मकवानपुर लगायतका जिल्लाबाट मानिस आउने गर्छन् । ठूला चाडपर्वहरू पनि नजिकिएकाले चाडपर्व मनाउने खर्च जुटाउनका लागि नदीमा बालुवा झिक्ने काम गर्न आएको उनीहरू बताउँछन् ।

खोटाङबाट बालुवा निकाल्न धादिङको बैरेनीस्थित त्रिशूली नदी किनारमा आएका सन्तोष राई भन्नुहुन्छ, चाडबाड मनाउन सजिलो छैन, पैसा निकै खर्च हुन्छ, सोही खर्च जोहोका लागि नदीमा बालुवा झिक्न आएको हो । वर्षात्को समयमा भन्दा अरू बेला बालुवा निकाल्न पाइँदैन, सकिँदैन पनि । अलि बढी दुःख र जोखिम भए पनि कमाइ राम्रै हुन्छ ।
गोरखापत्रबाट

Logo