आज सामाजिक सेवा दिवस मनाईदै

आज सामाजिक सेवा दिवस मनाईदै


काठमाडौं,

सामाजिक सेवाका क्षेत्रमा कार्यरत एउटा संस्थालाई एक लाख राशीको तुलसी मेहर समाज सेवा पुरस्कार दिने गरी सोमबार (आज) ४० औँ सामाजिक सेवा दिवस मनाइने भएको छ ।

गैरसरकारी संस्था र यसमा आबद्ध समाजसेवीहरुको मनोबल बढाउन र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्न प्रत्येक वर्ष एउटा संस्था र सात समाजसेवीलाई पुरस्कार वितरण गरिँदै आइएको छ । पुरस्कृत संस्था र व्यक्तिको नाम सोमबार नै सार्वजनिक हुनेछ ।

महिला, बालबालिका तथा सामाज कल्याणमन्त्री थममाया थापाले समाज सेवामा लाग्नका लागि पवित्र मन, बचन र कर्मको आवश्यकता पर्ने बताउनुभयो । समाज सेवामा लाग्न चाहने व्यक्तिलाई नयाँ संरचनामा कसरी समेट्ने भन्ने छलफल भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने विषयमा छलफल भइरहेको छ ।” समाज कल्याण परिषद्का सदस्य–सचिव राजेन्द्रकुमार पौडेलले समाजमा विस्तारै सेवाको भावना कम हुँदै गएको बताउनुभयो ।

असी भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको मूल समारोहस्थलमा विकास प्रदर्शनी हुने उहाँले बताउनुभयो । दिवस मूल समारोहमा उपस्थित हुन करीब एक हजार ८०० पाहुनालाई निमन्त्रणा गरिएको छ । सामाजिक सेवा दिवस मुलुकभर मनाउन ३२० सामुदायिक रेडियोसमेतलाई परिचालन गरिएको उहाँले बताउनुभयो ।

आजै २५ उत्कृष्ट लेख रचनासहितको सामाजिक विकास विशेषाङ्क विमोचन गर्ने कार्यक्रम छ । उहाँले भन्नुभयो, “सामाजिक सङ्घसंस्था र मिडियासँग सहकार्य गरेरै यो दिवस भव्य रुपमा मनाउन लागिएको हो ।” सोमबार भृकुटिमण्डपमा उपराष्ट्रपति नन्दबहादुर पुनको समेत सहभागितामा दिवस मनाउन लागिएको हो । बिहान ७ः३० बाट ८ः३० बजेसम्म प्रभातफेरी भृकुटीमण्डपबाट शुरु हुनेछ ।

Logo