गृहमन्त्रीका भाइ नरेश १ लाख रुपैयाँ धरौटीमा रिहा

गृहमन्त्रीका भाइ नरेश १ लाख रुपैयाँ धरौटीमा रिहा


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश १ लाख रुपैयाँ धरौटी तिरेर थुनामुक्त भएका छन् । अपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका नरेशलाई काठमाडौं जिल्ला अदालतले एक लाख रुपैयाा धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी तिरेर रिहा भएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । उनीसँगै पक्राउ परेका अन्य प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

प्रकरणमा थापासँगै पवन खड्का, समिरमानसिंह बस्न्यात, सुरेन नगरकोटी बलामी, जे भन्ने जावेद अनवर दिन, शैलेश प्रजापती, विनोद लामा, विरवल भट्टराई र प्रवेश भन्ने मनबहादुर पुन मगरलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

उनीहरुमध्ये जावेद अझै फरार छन् भने बस्न्यात केन्द्रीय कारागार, सुन्धारामा छन् । मंगलबारै आदेश आउने भनिए पनि वकिल धेरै भएका कारण थुनछेक बहस नसकिएपछि बुधबार मात्रै आदेश आएको हो ।

गुण्डा नाइके समिरमान सिंह बस्न्यातका दुई सहयोगी पवन खड्का र सुरेन नगरकोटीको नरेशसँग सम्बन्ध देखिएपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो । अदालतमा बयानका क्रममा थापाले बस्न्यातसँग आफ्नो चिनजान नभएको र उनलाई नभेटेको बताएका थिए ।

Logo